देवचुली,
देवचुली १३ दलदलेमा रहेको दलदले दुग्ध विकास सहकारी संस्थाको २६ औं साधारण सभा शुक्रबार दलदले साहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष थान प्रसाद पंगेनीको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्तयतामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै विशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका प्रवक्ता क्यापटेन डिल बहादुर खत्री, वडा नं १० का वडाध्यक्ष केशर आले, वडा नं १४ का वडाध्यक्ष हेमराज दवाडी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष गोपाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले दुग्ध सहकारी संस्थाहरु किसानसँग जोडिएका संस्था भएकाले शेयर सदस्य कृषकहरुका हकहितका लागि काम गर्नुपर्ने बताउनुभएको थियो । सहकारीले कृषकहरुले उत्पादन गरेको दुधलाई विक्रीवितरण गर्ने मात्र नभई शेय सदस्यहरुलाई उद्यमशिल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
२६ औं साधारणसभामा दलदले दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष थान प्रसाद पंगेनीले स्वास्थ्य प्रतिकुलताका कारण संस्थाका उपाध्यक्ष विष्णु पौडेललाई प्रगति प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिनुभएको थियो । साधारणसभामा पौडेलले दुग्ध उत्पादक कृषकहरुको हकहित र पशुपालनको अवस्था र कृषकहरुको आर्थिक उन्नति कसरी गर्ने भन्ने विषयमा एकिकृत भई निति निर्माण गर्ने बताउनुभएको थियो ।
उहाँले चिस्यान केन्द्र निर्माण गरी दलदलेमा संकलन भएको दुध यही ठाउँमा चिस्याउने व्यवस्था गरिएको साथै ठूला किसानलाई उत्पादनका आधारमा प्रोत्साहन प्रदान गर्ने लक्ष्यले १५ दिनमा एक हजार लिटर दुध उत्पादन गर्ने कृषकलाई प्रति लिटरमा १ रुपैया थप गर्ने व्यवस्था गरिएको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष चन्द्रकान्त गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत आर्थिक बर्षमा ११ करोड ४० लाख २५ हजार ८५ रुपैंया आम्दानी गरेको र ११ करोड ३७ लाख ९९ हजार ८ सय ७ रुपैंया संस्था संचालनका क्रममा खर्च भएको कोषाध्यक्ष चन्द्रकान्त गौतमले प्रतिवेदन मार्फत उल्लेख गर्नुभयो ।
दलदले दुग्ध विकास सहकारी संस्थाले गत आर्थिक बर्षमा १ लाख २५ हजार २ सय ७८ रुपैंया नाफा गरेको गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा गुणस्तरीय गाई पालक किसान, सबैभन्दा धेरै दुध उत्पादन गर्ने किसान, गोठ सरसफाई राख्ने किसान लगायत ९ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो । यसैगरि संस्थाले ९ औं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गर्ने कार्यक्रम रहेको छ ।