देवचुली,
जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शुक्रबार देवचुली १७ फारममा रहेको बरचुली माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चन्द्र प्रसाद तिवारीको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरि विशेष अतिथीका रुपमा देवचुली नगरपालिका वडा नं १७ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री, जिल्ला सहकारी संघका अध्यक्ष माधव प्रसाद गौतम, सचिव पिमलाल भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
२४ औं बार्षिक साधारण सभामा जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र प्रसाद तिवारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा तिवारीले कोभिड–१९ का कारणले गर्दा गत बर्षको साधारण सभा भन्दा फरक किसिमले साधारण सभा गरिएको जानकारी गराउँदै संस्थाले ९ वटा क्षेत्र बनाई क्षत्रिय साधारण सभाको उपस्थिती र सुझाव संकलन गरिएको जानकारी दिनुभयो । संस्थाले गत बर्षको भन्दा यस बर्षको प्रतिफल केही उपलब्धी मुलक बनाउन सकेको बताउँदै आगामी दिनमा संस्था एकीकरण गर्ने, सदस्य बृद्धि गर्ने, संस्थाको स्तरोन्नती गर्ने सबैको जिम्मेवारी रहेको तिवारीले बताउनुभएको थियो ।
यसैगरी कार्यक्रममा प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका नगरप्रमुख श्रेष्ठले सम्पूर्ण शेयर सदस्यले पहिला सहकारी भनेको के हो बुझ्न आवश्यक रहेको बताउँदै निम्न वर्गलाई उत्थान गर्न सहकारी स्थापना गरिएको बताउनुभएको थियो । श्रेष्ठले यदि सहकारी चलाउने हो भने समाजका सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष धुव्र प्रसाद लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत आर्थिक बर्षमा २ करोड ७२ लाख २८ हजार १ सय ४० रुपैंया आम्दानी गरेको र १ करोड ९३ लाख ४ हजार ४ सय १३ रुपैंया संस्था संचालनका क्रममा खर्च भएको कोषाध्यक्ष लामिछानेले प्रतिवेदन मार्फत उल्लेख गर्नुभयो । जनचेतना साकोसले गत आर्थिक बर्षमा ६८ लाख १७ हजार ७० रुपैंया खुद नाफा गरेको र संस्थाको ११ दशमलब ०४ प्रतिशत सेयर लाभांस रहेको लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट खुत्रुके बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट नियमित मासिक बचतकर्ता, उत्कृष्ट सुनौलो भविष्य बचतकर्ता, उत्कृष्ट सुनौलो बाल बचतकर्ता, असल ऋणि, उत्कृष्ट दैनिक बचतकर्ता, लघुवित्त बचतकर्ता, लघुवित्त ऋण समुह, जेष्ठ नागरिक र संस्थाका सेवा क्षेत्रभित्रका एस.ई.ई उतीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन र आ.व २०७७/७८ को प्रस्तावित आय व्यय विवरण संस्थाका कोषाध्यक्ष धुव्र प्रसाद लामिछाने, लेखा सुपरिवेक्षण विवरण संस्थाका संयोजक रामचन्द्र ठकुरी, बार्षिक प्रतिवेदन तथा आ.व २०७७/७८ का लागि प्रस्तावित नीति तथा कार्यक्रमका संस्थाका सचिव राजन पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।