३१ जेठ, काठमाडौं । झापा आन्दोलनका अगुवा शहीद रामनाथ दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक गुरु हुन् । उनै रामनाथकी छोरी मञ्जु दाहाल प्रसाईं अहिले झापाको कनकाई नगरपालिकामा उपमेयर छिन् ।न्यायिक समितिमा भूमिकासमेत निभाउने भएकाले स्थानीय तहका उपप्रमुखहरुलाई समाजभित्रका समस्याबारे मिहीन जानकारी हुने गर्छ । त्यसैले उपमेयर दाहालसँगको भेटमा हामीले कनकाई नगरपालिकाभित्र के कस्ता सामाजिक समस्या देखिएका छन् भन्ने जिज्ञासा राख्यौं । जवाफमा उनले सम्बन्धविच्छेदका घटना बढेको बताइन् । मदिरा सेवन, लागूऔषध तथा वैदेशिक रोजगारीका नकारात्मक प्रभावहरु समाजमा परिरहेको उनले सुनाइन् ।कनकाई नगरपालिकामा अपराध न्यूनीकरणका निम्ति घरेलु मदिरामाथि प्रतिबन्ध लगाएर लाइसेन्सप्राप्त मदिरामात्रै विक्री गर्न दिने निर्णय गरेको प्रसाईंले जानकारी दिइन् । तर, यसो गर्दा स्थानीय आदिवासी जनजातिमा केही असन्तुष्टि देखिएको उनले सुनाइन् ।यहाँ धेरै प्रकारका समस्या छन् । अधिकांश चाहिँ जग्गा, जमिन, साँध-सीमाना, लेनदेन, कारोबारको समस्या लिएर आउनुहुन्छ । थुप्रै महिलाहरु सम्बन्ध विच्छेदका लागि आउनुहुन्छ । सम्बन्ध विच्छेद गर्न चाहनेको दर पनि ठूलो देखिन्छ । महिला, पुरुष दुवै सम्बन्ध विच्छेद गर्नका लागि आउने गर्नुहुन्छ ।वैदेशिक रोजगारीले धेरै घरबारविहीन भएका छन् । श्रीमान हिँडिसक्दा यहाँ घरमा श्रीमतीको विजोग हुने गरेको छ । विवाह गर्नेवित्तिकै छाडेर जाने चलन छकतिपय पतिले कुटपिट गरेर दुःख दियो भनेर आउनु हुन्छ । कुटपिटको घटना हामीले मिलाउन मिल्दैन भन्दा पनि उहाँहरु आउन छाड्नुहुन्न । यस्तो अवस्थामा हामी समन्वय गरेर प्रहरी कहाँ पठाउँछौं । सामान्य रहेछ भने आफैं पनि मिलाउँछौं । कहिलेकाहीँ प्रहरीमा गएकाहरुलाई पनि यतै पठाइदिन्छन् । सामान्य प्रकृतिका घटनामा छलफलमा लागि यता आउने गरेका छन् ।
समाजमा देखिने यी समस्याको कारण के होला ?
प्रमुख कारण त वैदेशिक रोजगारी नै देख्छु । वैदेशिक रोजगारीले धेरै घरबारविहीन भएका छन् । श्रीमान हिँडिसक्दा यहाँ घरमा श्रीमतीको विजोग हुने गरेको छ । विवाह गर्नेवित्तिकै छाडेर जाने चलन छ । उहाँहरु नजिक भइसक्नुभएको हुँदैन । यस्तो अवस्थामा छाडेर गएर पछि नकारात्मक समस्या आउने गरेका छन् ।श्रीमानले बाहिरबाट नियमितरुपमा मोटो रकम पठाइदिने र त्यसको श्रीमतीले दुरुपयोग गर्ने गरेको पनि देखिएका छन् । वैदेशिक रोजगारीले विरक्तैलाग्दो बनाएको छ ।अर्को कुरा, लागूऔषध दुर्व्यसनीका कारण पनि समस्या देखिएका छन् । घरमै पनि श्रीमानले लागूऔषध खायो भनेर पनि उजुरी आउँछन् ।यसको न्युनीकरणका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक छ । धेरैजसो स्वेदशमा काम गर्न हिच्किचाउँछन् । तर, विदेशमा गएर जे गर्न पनि तयार हुन्छन् । विदेशमा जे पनि गर्न सक्ने यहाँ नसक्ने भन्ने हुँदैन । त्यहाँ गरेको तुलनामा नेपालमा केही प्रतिशत मात्र गर्ने हो भने विदेश यहीँ हुन्छ ।
कतिपय ठाउँमा पुरुष पनि महिलाबाट पीडित भएको कुरा आइरहेका छन् । कनकाई नगरपालिकामा पनि पुरुषले आफू पीडित भएँ भनेर उजुरी दिन आएका छन् कि छैनन् ?
श्रीमतीको कुराचाहिँ श्रीमानले पटक-पटक पिट्ने गरेको भन्ने थियो । श्रीमानको कुरा चाहिँ श्रीमतीलाई बोलाइदिनुपर्यो भन्ने थियो । महिला-पुरुषका यस्तै घर झगडा आउँछन् । यसमा मदिराको कुरा पनि जोडिन्छ । मदिरा पिएर कुटपिट गरेको घटना धेरै छन् ।कस्तो छ भने श्रीमान विदेश जान्छन्, श्रीमती यहीँ रहन्छिन् । श्रीमान आइसकेपछि श्रीमतीले छाडेर गइन् भन्ने उजुरी थुप्रै आएका छन् । श्रीमतीले अब मलाई खोज्नुपर्दैन भनेर हिँडेको एउटा घटना थियो । हामीले फोन गरेर दुवै पक्षलाई बोलाउने प्रयास गर्यौं । तर, माग के हो भनेर सोध्दा दुवैको कुरा सम्बन्ध विच्छेद पनि नगर्ने र मिल्ने कुरा पनि आएन ।
केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि रक्सीका कारण बलात्कार बढ्यो, अपराध बढ्यो भन्नुभएको थियो । कनकाई नगरमा तपाईंको अनुभवले के भन्छ ?
मदिरा एकदमै ठूलो समस्याको रुपमा देखा परेको छ । यो विषयमा झापा जिल्लाभरिका नगर तथा गाउँपालिकाका प्रतिनिधिलाई बोलाएर बृहत रुपमा छलफल पनि भएको छ । अहिले हामीले कनकाई नगरपालिकामा घरेलु मदिराको विक्रीलाई निषेध गरेका छौं । लाइसेन्स प्राप्तलाई मात्र विक्री गर्न दिने भन्ने प्रावधान ल्याएका छौं ।तर, यो प्रावधानमा छिटपुटरुपमा असन्तुष्टि पनि बाहिर आएका छन् । नगरमा बस्ने कतिपय जातजातिका लागि मदिरा सेवन परम्परा नै हो । उहाँहरुको विरोध छ । त्यही पनि हामीले मध्यमार्गी बाटो निकाल्ने प्रयास गरिरहेका छौं ।
स्थानीय तहका प्रमुखबाट उपप्रमुख हेपिए भन्ने कुरा धेरैतिर उठ्ने गर्छ । तपाईं र मेयर राजेन्द्र पोखरेलबीचमा त्यस्तो विवाद हुन्छ कि हुँदैन ?
मैले पनि धेरैतिरको समस्या सुनेकी छ । तर, कनकाई नगरमा त्यस्तो समस्या छैन । मैले देखेको कुरालाई उहाँसमक्ष स्पष्ट रुपमा यो कुरा गल्ती छ भनेर राख्ने गरेकी छु । मेरो सिद्धान्तचाहिँ के हो भने नेतृत्वदायी पंक्तिले चालेको कदमलाई हामीले निगरानी गर्नुपर्छ, मूल्यांकन गर्नुपर्छ । त्यसमा केही समस्या देखियो भने विवाद मच्चाउनुभन्दा पनि चित्त नबुझेको कुरा स्पष्टसँग राखेर हल गर्नुपर्छ भन्ने म मान्छु ।कतिपय ठाउँमा सवारी साधनको विषयलाई लिएर पनि मेयर र उपमेयरवीच समस्या भएको देखेकी छु, सुनेकी छु । तर, हाम्रो नगरमा ६/७ वर्षदेखि एउटा मात्रै गाडी छ, जुन हामी सबैले मिलेर प्रयोग गर्ने गरेका छौं । प्रमुख र उपप्रमुख यसैमा हिँड्छौं । प्रशासकीय अधिकृत पनि यसैमा हिँड्नुभएकै छ । विवाद पनि छैन । मुख्य कुरा भनेको बुझाइ हो ।अब चाहिँ एउटा विद्युतीय गाडी किन्ने भन्ने योजना छ । तर, अझै टुंगो लागि सकेको छैन ।मदिरा एकदमै ठूलो समस्याको रुपमा देखा परेको छ । यो विषयमा झापा जिल्लाभरिका नगर तथा गाउँपालिकाका प्रतिनिधिलाई बोलाएर बृहत रुपमा छलफल पनि भएको छ । अहिले हामीले कनकाई नगरपालिकामा घरेलु मदिराको विक्रीलाई निषेध गरेका छौं ।
तपाईं शहिद परिवारबाट जनप्रतिनिधि बन्नुभएको छ, उपमेयरका रुपमा अहिलेसम्मको कार्यावधिलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
म शहीद परिवारबाट यहाँसम्म आएकी हुँ भन्दा आफैंलाई गौरव लाग्छ । शहीद परिवारको तर्फबाट जनप्रतिनिधि हुनुले मात्र आंकाक्षा पूरा हुँदैन । मैले केही कुरा आफैंसँग प्रण गरेकी छु । पद पाएँ भनेर खुशी हुने भन्दा पनि निमुखा जनताको हितमा केही गर्न भने त्यसमै म सन्तुष्ट हुनेछु । गरिब जनताको पक्षमा काम गर्न सकें भने नै शहिदका लागि मैले पनि योगदान दिएँ भन्ने महसुस गर्नेछु । अहिल्यैको स्थितिमा चाहिँ शहिदको सपना पूरा गरिसकेको छु जस्तो लाग्दैन ।
जनप्रतिनिधिका रुपमा अब तपाईंको कार्यअवधि अब चार वर्ष पनि पूर्ण रुपले बाँकी छैन । यो अवधिमा शहीदका सपना पूरा होलान् ?
चारै वर्षमा सम्भव होलाजस्तो चाहिँ लाग्दैन । तर, सकेसम्म प्रयत्न गर्नेछु । अहिले हामीले गाउँ गाउँमा महिलालाई सुत्केरी पोषण सेवा दिइरहेका छौं । निम्न आर्थिक स्तर भएका नगरका एक लाख एक सय ७६ जनालाई निःशुल्क पोषण बाँडिसकेका छौं । उनीहरु पहुँच नभएका महिला हुन् ।अहिले कनकाई नगरपालिकामा ऐतिहासिक महत्वको जग पाण्डेको दरबार जाने बाटो खोल्ने काम पनि भइरहेको छ । हालसम्म जग पाण्डेको दरबार भएको ठाउँ जाने बाटोसम्म ६ सय मिटर बाटो खन्ने काम भइसकेको छ ।यो वर्ष कनकाई नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न हामी सफल भइसकेका छौं । अर्को महत्वपूर्ण कुरा, हामीले नगरलाई विद्युत् चुहावट निषेधित क्षेत्र भनेर घोषणा गरिसकेका छौं । नगरपालिका जनता जसले मिटर बक्स पनि किन्न सक्नुहुन्न, उहाँहरुका लागि निःशुल्क मिटर बक्स बाँडेका छौं । यो आर्थिक वर्षमा सम्पूर्ण नगरलाई नै उज्यालो नगरीको रुपमा घोषणा गर्ने योजना पनि छ ।
गृहणी भएर रहँदा र सिंगो नगरको नेतृत्व गरेर उपमेयर हुँदा कस्तो फरक हुँदोरहेछ ?
म गृहणी भएर बस्दा पनि राजनीतिसँग जोडिएकै थिएँ । मेरा श्रीमान खड्ग प्रसाईं पनि तत्कालीन एमाले हाल नेपाल कम्प्युनिष्ट पार्टीको नेता हुनुहुन्छ । त्यसो हुनाले म गाउँ, समाजको गतिविधिबाट टाढा भने पक्कै थिइनँ ।समाजमा हुने विभिन्न किमिसका विवाद र घटनालाई नजिकबाट हेरिरहेकी हुन्थें । गाउँमा हुने छलफल र अन्य कार्यक्रममा पनि सहभागी हुन्थें । म अखिल नेपाल महिला संघसँग पनि जोडिएकी थिएँ । त्यसैले जनप्रतिनिधिका रुपमा मेरो यात्रा त्यति धेरै नौलो पनि रहेन ।
उपमेयरको रुपमा न्यायिक प्रक्रियामा संलग्न भइरहँदा त गाह्रो होला नि ?
पहिले पनि गाउँमा हुने छलफलमा सहभागी भइरहेकाले धेरै गाह्रो भएन । यस्तो हुन सक्छ भन्ने अनुमान थियो । पहिले गाउँघरमा मिलाइने विषय अहिले नगरपालिकासम्म आइपुग्न थालेको छ । हामी चुनावबाट जितेर आइसकेपछि न्यायिक समिति केही समय कामविहीन जस्तै पनि भयो । समिति गठन हुन ढिलाइ भएको थियो । व्यवहारिक पाटो मिलाइसक्दा समितिमा पर्शुराम गिरी र नवलकिशोर दत्त पनि थपिनुभयो । त्यसपछि विभिन्न तालिम र प्रशिक्षण पनि भए ।मेलमिलापसम्बन्धी ८ दिने तालिम पनि लिएका थियौं । त्यसले धेरै मद्दत गर्यो । तालिमबाट मुद्दाको निर्णयभन्दा पनि मेलमिलाप गराउनुपर्ने रहेछ भन्ने थाहा भयो । मेलमिलापले दुवै पक्ष हामीसँग खुशी पनि हुने भए । अहिले नगरको प्रत्येक वडामा मेलमिलाप केन्द्र पनि राखेका छौं । वडामा हुने समस्या त्यहीँ हल हुने हुँदा जटिल प्रकृतिका समस्या मात्र नगरमा आइपुग्छन् ।