कावासोती, ज्ञानु पंगेनी
संरक्षणमा महिला सहभगिता बढि भए पनि निर्णायक तहमा महिलाको सहभागिता न्युन रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
संञ्चारिक समुहको आयोजनामा आज कावासोतीमा भएको वातावरण संरक्षण तथा लैङ्गिकता तथा सामाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
सामुदायिक वन र निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणमा महिलाहरु निकै सक्रिय भएर लागेको भएपनि अर्थपूर्ण सहभागिता भने हुन नसकेको उनीहरुको गुनासो थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले कावासोती नगरपालिकको मध्यवर्ती क्षेत्रमा वन, वन्यजन्तुको संरक्षण , जैविक विविधता र वातावरण संरक्षणमा महिलाको भुमिका नै महत्वपूर्ण रहेको बताउनुभयो । मध्यवर्ती क्षेत्रका वनवन्यजन्तुको संरक्षण गर्दै पर्यापर्यटनको रुपमा विकास गरेपछि हिजोका दिनमा गैडादेखि ढुङ्गा हानेर लख्ट्नेहरु आज त्यहि गैंडा पर्यटनकलाई देखाएर आयआर्जन गरिरहेको उहाँले बताउनुभयो । उहाँले महिलाहरु नै सक्रिय भएर सरसफाई देखि तालको सरसफाई , घाँसे मैदान व्यवस्थापन , जाली तटबन्ध लगाउने काममा महिलाहरु स्वयमसेविका रुपमा काम गर्दै आएको भएपनि निर्णय गर्ने ठाउँमा भने पुग्न नसकेको उहाँको भनाई थियो । महिलाको अर्थपूर्ण सहभागिताका लागि निकुञ्जका केहि निति नियममा शंशोधन गर्दै निर्णयक तहमा महिलाको सहभागिता अनिवार्य गराउन आवश्यक रहकोमा उहाँले जोड दिनुभयो । कतिपय अवस्थामा निकुञ्ज , सेना र स्थानीय बासिन्दाबिच द्वन्द्वको अवस्था सृजना हुँदा समस्या समाधान गर्न धेरै गाह्रो पर्ने गरेकाले निकुञ्जसंग आश्रित समुदायको जिविकोपार्जनसंग जोडिएको कुरालाई व्यवहारिक बनाएर लैजानुपर्ने उहाँले बताउनुभयो । मध्यवर्तीका बासिन्दा बिना संरक्षण संम्भव नहुने भन्दै उहाँले स्थानीय , जनप्रतिनीधी र निकुञ्ज प्रशाशन एकआपसमा मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय सदस्य सीता खड्काले सामुदायिक वनमा पदाधिकारी सहित ५० प्रतिशत महिला सहभागिता सुनिश्चिचता गरेको भए पनि अधिकाशंमा सहभागितामा मात्रै सिमित बनेको बताउनुभयो । निर्णायक तहमा बसेर आफै निर्णय गर्ने अवसरबाट भने महिलाहरु अझै पनि बञ्चित हुन परेको उहाँले बताउनुभयो । जिल्लाकै हकमा महिला अध्यक्ष भएर संञ्चालन गरेका सामुदायिक वनहरुको प्रगती राम्रो देखिएको वन डढेलो नियन्त्रण , चोरी शिकार नियन्त्रणमा समेत महिलाहरुले उल्लेखनिय काम गरेका उदाहरण भए पनि अधिकाशं वनहरुमा महिलाको भुमिका नगन्य हुने गर्दा समावेशीकरण मात्र नभई अर्थपूर्ण समावेशीकरण हुनुपर्ने उहाँको जोड थियो ।
यस्तै कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष देव नारायण महतोले मध्यवर्तीका बोटे , माझी मुसहर र थारु समुदायको जिविकोपार्जनसंग मात्रै नभई संस्कार र संस्कृतीसंग समेत यहाँका खोलानाला वजजंगल जोडिएको हुँदा निकुञ्जका केहि निति नियमलाई सहज बनाउन आग्रह गर्नुभयो । ‘यहाँका समुदायका चाडपर्वहरुमा माछाको परिकार अनिवार्य मानिन्छ भने विभिन्न शुभकार्य पितृकार्यमा पातबाट खुटेका टपरी पनि अनिवार्य मानिन्छ । तर , अहिले निकुञ्जका नितिनियमकै कारण हामिले माछा मार्न पाउँदैनौ , पात टिप्न पाउदैनौ । यसरी त हाम्रो संस्कृती पनि नासिन्छ त्यसैले यी कुराहरुमा व्यवहारीक रुपमा सहज वातावरण बनाउन म आग्रह गर्दछु । ’ महतोले भन्नुभयो ।
यसैगरि संरक्षणकर्मी डिबी चौधरीले कावासोती नगरपालिका देशकै एउटा जैविक विविधताले भरिपूर्ण र प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सबै मिलेर एकताबद्ध भएर लाग्न सके कावासोतीमा देशविदेबाट पर्यटक भित्राउन सकिनेमा जोड दिनुभयो । उहाँले आफु लामो समयदेखि संरक्षणमा लागेको हुँदा संरक्षणमा महिलाको भुमिका निकै महत्वपूर्ण हुने बताउनुभयो । वनवातारणसंग जोडिएका श्रोतसाधनको प्रयोग महिलाहरुले नै बढि गर्ने हुँदा महिलाहरुलाई वैकल्पिक श्रोतसाधनको प्रयोगतर्फ प्रेरित गरेर जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटन मार्फत् गाउँको आर्थिक समृद्धिमा लागेको उहाँले बताउनुभयो । पुरुषहरु विदेश र बाह्यकाममा बढि हिड्ने हुँदा महिलाहरु नै संरक्षकका मुख्य नाइके रहेको उहाँको तर्क थियो । महिलाहरुलाई अवसर दिएमा संरक्षण संगै उनीहरु आत्मनिर्भर हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर सहायक संरक्षण अधिकृत पशुपती अधिकारीले वातावरण संरक्षणको महत्व , निकुञ्जमा भएका प्रावधान , महिला सहभागिता , संरक्षणमा देखिएका समस्या, समाधानका उपाय लगायतको बारेमा प्रशक्षण दिनुभएको थियो ।
अधिवक्ता भुपेन्द्र खनालले लैङ्गीक र सामाजिक समावेशीकरणका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले अहिले स्थानीय सरकारसंग धेरै अधिकार रहेको र आफै नियम कानुन समेत निर्माण गर्न सक्ने भएकाले महिलाको हक अधिकारलाई सुनिश्चि गर्ने खालका कार्यविधी बनाएर महिलाको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न सक्ने बताउनुभयो । अब महिलाका नाममा आएका बजेट भौतिक विकासमा मात्रै होईन उनीहरुको शीप विकास र क्षमता विकासमा लगाउन जोड दिनुपर्ने बताउनुभयो । संविधान र नियम कानुनमा भएका महिलाका धेरै हक अधिकार समेत कार्यान्वयन हुन नसकेको भन्दै भएका हक अधिकारको कार्यान्वयन गर्नतर्फ महिलाहरु अग्रसर हुनुपर्ने उहाँको भनाई थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय सदस्य सीता खड्काको अध्यक्षता तथा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संरक्षणकर्मी , मध्यवर्तीसंग जोडिएका वडाका जनप्रतिनिधी , वनका प्रतिनिधी , सरोकारवाला , संचारकर्मी लगायतको सहभागिता रहको थियो ।
गंगा विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रममा ज्ञानु पंगेनीले सहजीकरण गर्नुभएको थियो ।