देवचुली,
देवचुली नगरपालिका वडा नं १२ का ४ वटा विपन्न परिवारका घरको शुक्रबार शिलान्यास गरिएको छ । विंस २०७२ सालमा आएको महाभुकम्पबाट आंशिक क्षति भई भुकम्प पुननिर्माण प्राधिकरणको सूचिमा नपरेका तर हाल बस्न नमिल्ने अवस्थाका वडाका ९ वटा घर पुनिर्माण गर्नुपर्ने भएकाले वडाले निर्माणका लागि तत्परता देखाएको छ ।
बस्न नमिल्ने ९ घर मध्ये परिवारले समेत निर्माणका लागि पहल गरेका ४ वटा घर निर्माणका लागि शिलान्यास गरिएको छ । वडाद्धारा पुननिर्माण गरिने घरहरुमा देवचुली १२ दिव्यनगरकी दिलमाया तामाङ, लक्ष्मीपुरकी हिममाया बाचे, प्रगति टोलका भक्त बहादुर सलामी र सोही टोलका मोतीसरा गाहा (एकल महिला) गरि ४ जनाको घर शिलान्यास गरिएको छ ।
शिलान्यास कार्यक्रममा निजी आवास पूननिर्माण समितिका संयोजक पम बहादुर क्षेत्रीको अध्यक्षता रहेको थियो भने देवचुली १२ का वडाध्यक्ष दिनानाथ भुसालको प्रमुख आतिथ्तयता रहेको थियो । वडाध्यक्ष भुसालले दिलमाया तामाङको घरको शिलान्यास गरि पुनर्निर्माणको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै भुसालले देवचुली १२ को आ.ब. २०७७/७८ को विपत व्यवस्थापन कोषको बजेटबाट निर्माण गर्न लागिएका घरको खाँबो र छानो मात्र हाल्न सकिने बताउँदै अन्य संघसंस्था, स्वदेश तथा विदेशमा रहनुहुने व्यक्तिहरुलाई घर निर्माणमा सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । उहाँले पुनर्निर्माण गर्न लागिएको घरहरु वडा कार्यालयको विपत व्यवस्थापन कोषको रु एक लाख पचास हजारबाट काम सुरु गरिएको बताउनुभयो । निर्माण गर्न लागिएका घरलाई सहयोग गरि मानवीय भावना देखाउन समेत वडाध्यक्ष भुसालले आग्रह गर्नुभएको छ ।
उक्त कार्यक्रममा अमर सामुदायिक वनका अध्यक्ष होमनाथ पौडेलले प्रत्येक घरका लागि ५/५ हजार व्यक्तिगत तथा वनसमितिको तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरि एकता सामुदायिक वनका अध्यक्ष हुमकान्त सुवेदी र प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले पनि घर निर्माणमा संस्थागत र व्यक्तिगत सहयोग गर्ने एवं सार्वजानिक रुपमा सहयोगका लागि अपिल गर्ने बताउनुभयो । शिलान्यास कार्यक्रममा वडा नं १२ का जनप्रतिनिधि, बुद्धिजिवि र स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली १२ का वडा सदस्य भिमलाल तिवारीले गर्नुभएको थियो ।