देवचुली,
लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देवचुली नगरपालिकामा विभिन्न कार्यक्रमहरु सहित प्रभावकारी रुपमा सम्पन्न गरिएको छ । नोभेम्बर २५ देखि सुरु भएको अभियान देवचुली नगरपालिकाका १७ वटै वडामा ब्यानर राखि हस्ताक्षर संकलन गरिएको छ । अभियानकै क्रममा देवचुली नगरपालिकाका विभिन्न वडामा बालबालिकाहरुले लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण, चेतनामुलक कार्यक्रम समेत गरेका थिए ।
लैङ्गिक हिंसा निवारण कोष संचालक समितिका अध्यक्ष देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै अध्यक्ष तिवारीले लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम १६ दिन मात्र नभई यसलाई सधै अगाडि लैजानुपर्नेमा जोड दिनुभएको थियो । उहाँले बिशेष गरि महिलाहरु हिंसामा परिरहेकाले हिंसाका विषयमा आवाज उठाउनुपर्ने बताउँदै अबका दिनमा लैङ्गिक हिंसालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरि कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
म लैङ्गिक हिंसा गर्दिन, हिंसा गरेको पनि सहन्न र कसैले हिंसा गरेको पाएमा उजुरी गर्नेछु भनि १ हजार ४ सय हस्ताक्षर संकलन भईसकेको र देवचुली नगरपालिकाका विभिन्न वडामा संकलन गर्ने काम भइरहेको , बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विमला लम्सालले जानकारी दिनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ, उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविद सिग्देल, महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विमला लम्साल, नगरपालिकाका कर्मचारी लगायतको उपस्थितीमा सम्पन्न गरिएको थियो ।