देवचुली,
“कोभिड १९ को रोकथाम र समृद्धिका लागि संयक्त कार्य : महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य” भन्ने मूल नाराका साथ देशभर सहित देवचुली नगरपालिकामा पनि १७ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ । सोमबार देवचुली स्वास्थ्य चौकीको आयोजनामा वडा नं ७ रामबासमा स्वास्थ्य चौकी सेवा क्षेत्रका वडा नं ६, ७, ८ र ९ का १० जना मध्ये एक जनालाई उत्कृष्ट सम्मान गरिएको थियो । यो सहित देवचुली नगरपालिकामा १७ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा ४ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ ।
कार्यक्रममा अध्यक्षता देवचुली स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष भुपराज पाठकले गर्नुभएको थियो भने देवचुली नगरपालिका स्वास्थ्य शाखा सिनियर अ.हे.व शिव पराजुली, देवचुली ८ का वडाध्यक्ष चन्द्र बहादुर सिंजाली, ९ का वडाध्यक्ष मेख बहादुर सारु लगायत देवचुली स्वास्थ्य शाखाका प्रतिनिधिहरु, स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिका स्वास्थ्य शाखा सिनियर अ.हे.व शिव पराजुलीले कोभिडको समयमा पनि आफ्नो कामलाई निरन्तरता दिने स्वास्थ्य स्वयंसेविकाहरुको कोरोना बिमा गरिएको जानकारी गराउनुभएको थियो ।
यस्तै कार्यक्रमलाई समापन गर्दै देवचुली स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष भुपराज पाठकले स्वयंसेविकाहरु समाजको महत्वपूर्ण अंग रहेकाले उहाँहरुको उच्च कदर गर्नुपर्ने बताउँदै स्वयंसेविकाहरुले पाउनुपर्ने सेवा सुविधाका लागि आँफूहरुले पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा सम्पूर्ण स्वयंसेविकाहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो भने उत्कृष्ट स्वयंसेविका प्रगतिनगर स्वास्थ्य चौकीतर्फ एक जना, रजहर स्वास्थ्य चौकीतर्फ एक जना, दुम्कौली स्वास्थ्य चौकीतर्फ एकजना र देवचुली स्वास्थ्य चौकीतर्फबाट एकजना गरि ४ जनालाई सम्मान गरिएको थियो ।
स्वास्थ्य स्वयंसेविकाहरुलाई आगामी दिनमा अन्य संघसंस्थामा आबद्ध हुन सके काममा थप सहज हुने स्वास्थ्य स्वयंसेविका सारदा ढुंगनाले बताउनुभएको थियो ।
उक्त कार्यक्रममा स्वास्थ्य स्वयंसेविका सारदा ढुंगना , धनु माया कडरिया, वडाध्यक्ष मेख बहादुर सारु, नौमाया बाचे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण देवचुली स्वास्थ्य चौकी प्रमुखले गर्नुभएको थियो ।