देवचुली,
रजहर जेसिजको मुख्य आयोजना र १०३.८ ह्याप्पी एफ एम र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहआयोजनामा महाभारत पर्वत शृङ्खलाको सबैभन्दा अग्लो स्थान देवचुली पर्वतमा पहिलोपटक साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ। रजहर जेसिजको जेसिज सप्ताह कार्यक्रम अन्तर्गत नवलपुरको पर्यटकीय क्षेत्र देवचुली डाँडाको पर्यटन प्रवर्धन, प्रचारप्रसार र जलवायु परिवर्तन सम्बन्धी सचेतनाका लागि सो साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता रजहर जेसिज बर्ष २०२० का अध्यक्ष राजन गौतमले गर्नुभएको थियो भने प्रमुख आथित्यता प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले गर्नुभएको थियो।
सो अवसरमा नवलपुरका साहित्यकारहरुले जीवनजगत, प्रकृति, प्रेम,सामाजिक कुरिती र राजनिती लगायत बिषयमा आफ्ना साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए । देवचुली डाँडाको पारिलो घाम र सिरसिर चलेको बतासमा साहित्यकारहरु टीका सापकोटा पोखरेल, अर्जुन अविरल, सितादेवी पौडेल, नारायण प्रभु, बिक्रम ढकाल अनुराग, कोहिनुर कल्पना, रमेश भुर्तेल, कल्पना सिग्देल, रमेश तिमिल्सिना, कृष्णहरि सापकोटा, खिमानन्द भुसाल,हेमा आले लगायतले रचनावाचन गरे। साहित्यकार हेमा आलेले मगर भाषामा पनि गजल सुनाइन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले देवचुली डाँडा प्रचुर पर्यटकीय सम्भावनाको स्थान भएकाले स्थानिय सरकार, सरोकारवाला र सचेत नागरिकले प्रचारप्रसार र पुर्वाधार बिकासमा पहल गर्नुपर्ने तर्क गरे। कार्यक्रमका अध्यक्ष नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्षका दावेदार राजन गौतमले देवचुली डाँडाको थप ब्यापकताका लागि रजहर जेसिजले शिखरमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रममा प्रा.डा.कृष्णप्रसाद पौडेलको पुस्तक कम्मरी देखि कोभिड कहर कार्यक्रमका अध्यक र प्रमुख अतिथिलाई हस्तान्तरण गरिएको थियो। ३५ भन्दा बढी ब्यक्तिको सहभागिता रहेको कार्यक्रम करिव एक घण्टा चलेको थियो। कार्यक्रमको संयोजन एवं सञ्चालन सहआयोजक ह्याप्पी एफ।एम। का स्टेसन म्यानेजर तथा साहित्यकार आदर्श सुशिलले गरेका थिए।
कसरी पुगिन्छ देवचुली डाँडा ?
पूर्वपश्चिम राजमार्गको नवलपुर जिल्लाको देवचुली नगरपालिका दलदले बजारबाट करिव सत्र किलोमिटरको मोटर बाटोबाट बुलिङटार गाउँपालिकाको पोखरी बजार पुग्न सकिन्छ। पोखरी बजारबाट पूर्वौत्तरमा रहेको देवचुली डाँडा पुग्न करिब तीन घण्टाको पैदलयात्रा पछि देवचुली चुचुरो पुग्न सकिन्छ। पोखरी बजारमा खाना बस्नको ब्यवस्था रहेको छ भने पैदलयात्रामा पानी र फास्टफुड आँफै बोक्नुपर्ने हुन्छ। देवचुली चुचुरोको यात्रामा जति थकान महसुस हुन्छ चुचुरोबाट उत्तरमा सेताम्य टल्किएका हिमशृङ्खला, उत्तरमा कलकल बगिरहेको कालिगण्डकी र दक्षिणमा नारायणी नदि, चितवन राष्ट्रिय निकुञ्ज, बरचुली र अन्य डाँडाको मनमोहक दृश्यले सबै थकान मेटिएको महसुस हुन्छ। फाल्गुन चैत्र तिर लालिगुराँस फुलेको देख्न सकिन्छ। कुँदेर राखेको झै देखिने ढुङ्गाहरु थप आकर्षणका केन्द्र हुन। यात्राकै क्रममा देखिने किर्तिपुर गाउँ,बोझापोखरी होमस्टेको दृश्यले आल्हादित बनाउँछ। चुचुरोको करिव ५ सय मिटर तल रहेको मिनि भ्यु टावरबाट पनि सुन्दरताको आनन्द लिन सकिन्छ। थारु समुदायको आस्थाको केन्द्र तिनकन्यामाईको मन्दिर, प्राचीन कुमारवर्ती गुफा पनि सोहि ठाउँमा अवस्थित छ। कतै नागबेली गोरेटो बाटो, कतै नाक ठोक्किने गुफाको बाटो भने कतै शितल छहारी मुनिको तेर्सो बाटो, यी सबैको संगम हो देवचुली डाँडा । नेपालको मध्यभागमा पर्ने शाश्वतधाम (सिजि मन्दिर)बाट नजिकै रहेको देवचुली डाँडा पदयात्रीको एक उत्कृष्ट गन्तव्य बन्न सक्छ। आउनुस हातेमालो गरौ, आन्तरिक एवं बाह्य पर्यटनको प्रवर्द्धन गरौं।