सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा आफ्नो प्रस्ताव राखेपछि त्यसमाथि अध्ययन र आवश्यक कारबाहीका लागि नेकपा सचिवालय बैठक आगामी मंसिर १६ गते बस्ने भएको छ ।
शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।
पार्टी प्रचण्ड तथा असन्तुष्ट पक्षका तर्फबाट गत बैठकमा राखिएको प्रस्तावको प्रतिउत्तरमा ओलीले के लेखेका छन् त्यो भने स्पस्ट हुन सकेको छैन ।
सो प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
‘कमरेड अध्यक्ष ओलीको प्रस्ताव खाममा वितरण गरियो, आज पढ्न पाइएको छैन र त्यसबारे अहिले केही भन्न सकिएन,’ पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्तुत प्रस्ताव अध्ययन गर्ने र यही बीचमा आवश्यक छलफल गृहकार्य समेत गरेर अर्को बैठक गर्ने निर्णय भएको छ।’
बैठकमा दुई अध्यक्ष र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टीको अहिलेको संकटबारे धारणा राखेका थिए ।
प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुले अहिले देखिएका समस्याका कारण पार्टी फुटतर्फ उन्मुख हुनुको कुनै कारण नभएको बताएका थिए।
‘अब १६ गते सचिवालय बैठक बस्छ, आवश्यक परे १७ गते पनि बस्छ र १८ गते स्थायी समितिको बैठक नै बस्ने तय छ, त्यहाँ पनि छलफल हुन्छ,’ श्रेष्ठले भने।
पार्टीको अहिलेको प्रयास संकट समाधानकै लागि भएको श्रेष्ठको भनाइ छ। सहि दिशा दिन पार्टी प्रतिवद्ध रहेको उनले बताए।