देवचुली,
सुरिक्षत र पर्याप्त पानीको पहुँच, घरघरमा धारा : व्यवस्थित र समृद्ध आयोजना, हाम्रो अभिभारा भन्ने नारा बोकेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २३ औँ साधारण सभा सम्पन्न गरेको छ । आइतबार देवचुली नगरपालिका दलदलेमा रहेको साहारा पार्टी प्यालेसमा भौतिक दुरि कायम गरि आर्थिक वर्ष ०७६/०७७ को प्रगति तथा आर्थिक प्रतिवेदन एंव चालु आर्थिक वर्ष ०७७/०७८ का लागि प्रस्तावित भावी कार्ययोजना प्रस्तुत गरिएको थियो ।
उक्त २३ औँ वार्षिक साधारण सभामा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले भावी योजना र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा अध्यक्ष भुसालले सेवाक्षेत्रलाई खुल्ला दिसामुक्त घोषणा गरि नेपाल कै खानेपानी संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको बताउनुभएको थियो । अध्यक्ष भुसालले आर्थिक बर्ष ०७६/०७७ को प्रगति विवरण प्रस्तुत गर्दै संस्थाले एक बर्षको अवधिमा मूलभुत ८० वटा कार्य गरिएको व्यहोरा वाचन गरेर सुनाउनुभएको थियो । जसमा २२ दशमलब ९६ मिटर पाइप लाइन विस्तार , थप २ सय ३५ धारा वितरण , विपन्न परिवारको शौचालय निर्माण, डोजिङ्ग मेसिन सहित कोलेरिनेसन युनिट निर्माण, ायर हाइडे्रन्ट निर्माण, उपभोक्ताको दुर्घटना विमा, जुठेल्नो सुधार कार्यक्रम आदि रहेका छन् ।
साथै प्रगतिनगर खानेपानीको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ४ सय ५० घन मिटरको ओभरहेड ट्याङकी र बोरिङ्गको काम हुने क्रममा रहेको अध्यक्ष भुसालले बताउनुभयो । नगरपालिका भित्रका सामाजिक संघसंस्थाहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिएको समेत जानकारी दिनुभयो । विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड पूरा गरेका अन्य देशका सफल खानेपानी संस्था सँग भगिनी सम्बन्ध स्थापित गरिने, गरिब विपन्न र दलित परिवारलाई निशुल्क धारा वितरण, संस्थालाई प्रविधिमैत्री र उपभोक्तामैत्री बनाईने लक्ष्य रहेको अध्यक्ष भुसालले बताउनुभयो ।
साधारण सभा कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समिति कोषाध्यक्ष बिना बराल मगरले खानेपानी संस्थाको गत बर्ष ३ करोड ३३ लाख ९९ हजार ५ सय ६७ आम्दानी भएको छ भने प्रशासनिक खर्च तर्फ १ करोड ८४ लाख १८ हजार ३ सय २१ र पूर्वाधार निर्माण तर्फ १ करोड १० लाख १८ हजार ३ सय २१ गरि कुल २ करोड ९४ लाख ३६ हजार ३ सय ४६ खर्च भएको बताउनुभयो । यस्तै २०७७ असार मसान्तमा बैंक मौजदात १ करोड २१ लाख १७ हजार ४ सय ८० रहेको उल्लेख गरिएको छ ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्तयता रहेको थियो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले देवचुली नगरपालिकामा अन्य खानेपानी संस्था भन्दा नमुना रुपमा काम गरिरहेको प्रशंसा गर्दै कामको मुल्याङकन गर्नुभएको थियो । आगामी नयाँ कार्ययोजनाको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले दिप प्रज्जवलन गरि कार्यक्रमको समुदघाटन गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुख एंवम प्रतिनिधीहरु, उपभोक्ताहरु लगायतको उपस्थिी रहेको थियो । कार्यक्रमको सहजीकरण प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव इन्द्रकमणी भुसालले गर्नुभएको थियो ।