अमेरिकाको डेमोक्र्याटिक तर्फबाट राष्ट्रपतिका लागि उम्मेदबार बन्नु भएका जो वाइडेन जितको नजिक पुगेको देखिएको छ । उनलाई राष्ट्रपति कार्यालय प्रवेशको बाटो खुल्ने अवस्था आएको धेरैले विश्वास व्यक्त गरेका छन् ।
पूर्व उपराष्ट्रपति वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगातार पछाडि पारिरहेका छन् । अमेरिकी विभिन्न सञ्चार माध्यमहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार बाइडेनले अहिलेसम्म २६४ इलोक्टोरल मत प्राप्त गरिसकेका छन् ।
कुल ५३८ वटा इलेक्टोरल कलेज मत मध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याएमा राष्ट्रपतिमा विजयी हुने भएकाले उनि जितको नजिक पुगिसकेको ठानिएको हो । ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल मत मात्र पाएको फक्स न्युजले जनाएको छ । उनले कतिपय राज्यहरुमा धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् ।
ट्रम्पले अदालतमा रिट दायर गर्ने पनि बताएका छन् । अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उहाँको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् ।
बाँकी ठाउँको मतगणना जारी नै रहेको र हुलाकबाट पठाइएको पत्र पत्र आउने क्रममै रहेकाले अन्तिम नतिजा आउन भने अझै केही समय लाग्ने देखिएको छ । अमेरिकामा झण्डै सात करोड अमेरिकी नागरिकहरुले हुलाकबाट मतदान गरेका छन् । हुलाकबाट आएको मत गणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने छ । तर हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने संभावना कम हुने गरेको छ ।
नेपाली समय अनुसार मंगलबार राती अबेरसम्म भएको मतदान सकिएपछि बुधबार हिजो विहानदेखि मत गणना शुरु भइ परिणाम सार्वजनिक हुन थालेको हो । अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।
अहिले प्रतिष्पर्धामा उत्रिएका वाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्धा बनाउनु भएको थियो भने ट्रम्प आफु माथी लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामक रूपमा प्रस्तुत हुनु भएको थियो ।
चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको थियो ।
अमेरिकामा रिपब्लिकनहरूहरुलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।