प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन् ।
दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु ।’
अहिले कोरोना संक्रमण अहिलेसम्मकै उच्च देखिएको र काठमाडौं उपत्यका संक्रमणको केन्द्रजस्तै बनेको बताए । महामारी नियन्त्रण गर्न र संक्रमितको उपचारमा सरकारले आफ्नो सम्पूर्ण प्रयास केन्द्रित गरेको उनले बताएका छन् ।
जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको भन्दै उनले भनेका छन्, ‘म सम्पूर्ण देशवासी दिदीबहिनी दाजुभाइलाई निश्चिन्त रहन अनुरोध गर्दछु, कोभिड–१९ बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ ।’
पहिचान, परीक्षण र उपचारमा मात्रै होइन, यस महामारी बिरुद्धको खोपमा नेपाली जनताको सहज पहुँचका लागि समेत सरकार क्रियाशील रहेको उनले बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले सक्ने आफैं बाँच, नसक्ने जेसुकै गर भन्यो भन्नु हल्ला मात्र भएको बताए । सरकारले संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरेको भन्दै उनले भने, ‘सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ ।’
‘निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी दाजुभाइहरु स्वेच्छाले आफैं, आफ्नै खर्चमा उपचार गराइरहनु भएको छ । राज्यको लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरुको यो कार्य आफैंमा प्रसंशनीय छ’ उनले अघि भनेका छन् ।
महामारी विरुद्धको लडाईंको विषयलाई पक्षविपक्षको स्वार्थ, दाउपेच र अस्त्रको हिसाबले प्रयोग गर्न नहुने उनले बताए । साथै जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले घोषणा गरेका नियमहरुको कडाइका साथ पालना गर्न आग्रह गरे ।