देवचुली,
पछिल्लो समय देशमा बालिका बलात्कारका घटनाहरु एक पछि अर्काे सार्वजनिक भएपछि देशका विभिन्न स्थानमा बिरोधका कार्यक्रम भईरहँदा देवचुलीका युवाहरु पनि एकजुट भएका छन् । शनिबार दिउँसो तीन बजे देखि सुरु भएको दबाब मुलक सडक नाटक करिब दुई घण्टा सम्म चलेको थियो । भौतिक दुरि कायम गर्दै दलदले चोकमा बलात्कार विरुद्ध सडक नाटक, दिप प्रजवलन र बलात्कार विरुद्ध लेखिएका प्ले कार्ड प्रद्र्धशन गरेका थिए ।
बलात्कार जस्ता अमानवीय घटनाका बिरोधमा सडकमा उत्रिएर नारा लगाएका थिए । पछिल्लो केही दिन यता नवलपुर जिल्लामै दुई जना बालिका बलात्कारको शिकार भएका थिए । नवलपुर जिल्लामा मात्रै नभई हरेक दिन किशोरी, महिला माथि हुने यस किसिमका घटनाहरु घटिरहँदा कोही पनि बालिका घरमा बस्दा होस या विद्यालय जाँदा कुनै पनि समयमा सुरिक्षत नभएको भन्दै यस्तो संवेदनशिल कुरामा पनि सरकारले अपराधिलाई सजाय नदिएकोमा युवाहरु आक्रोशित बनेका थिए ।
बलात्कारका घटनालाई लुकाउन आर्थिक प्रलोभन देखाउने, राजनैतिक पृष्ठभूमि देखाएर पिडितलाई न्यायबाट बन्चित गराउने गरेको दर्दनाक पिडाको घटनालाई नाटकमा उतारेका थिए ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका बाल संजालका पूर्व अध्यक्ष अरमान मियाले बलात्कारीका लागि कठोर भन्दा कठोर कानुन बनाउन माग गरेका थिए । समाजमा बलात्कार भएकी बालिका, किशोरी र महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने माग गर्दै देवचुली नगरपालिकामा यस्ता घटना हुन नदिनका लागि युवाहरु जागरुक भएर अगाडि बढ्ने बताएका थिए ।
यस्तै बलात्कार बिरोध प्रदर्शनमा बोल्दै बालमैत्री परामर्शदाता खिमानन्द भुसालले समाजलाई रुपान्तरण गर्नका निमित युवाहरुको जमात देखेर निकै खुसी लागेको बताउँदै बलात्कारका घटना दिन प्रति दिन बढदै जाँदा बलात्कारी समेत खुल्लेआम हिडिरेकाले बलात्कारीलाई कठोर सजाय दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा देवचुली नगरपालिकाका बालक्लब, युवाक्लब, विभिन्न संजालका युवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कोरोना भन्दा बलात्कारको डर भो सरकार, अपराधिलाई राजनितिकरण बन्द गर, मेरो लुगा होइन तिम्रो सोच सानो छ, स्टप रेप जस्ता नारा लगाएका थिए ।