कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न विवाद समाधानका लागि नेकपा भित्र छलफल हुने क्रम जारी छ ।
विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार बिहान संयुक्तरुपमा दुबै पक्षसँग छलफल गर्ने भन्दै निम्तो दिए पनि प्रचण्ड त्यहाँ नजाने भएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका हुन् ।
पार्टी उच्च स्रोतका अनुसार ओलीले बालुवाटारमा बिहान ११ बजे नेकपा कर्णालीका दुबै पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएको र त्यहाँ प्रचण्डलाई पनि आउन गरेको आग्रहको जबाफमा प्रचण्डले ‘तपाई आफैं छलफल गर्नोस्, उनीहरुको कुरा सुन्नुहोस् अनि आवश्यक परे हामी पछि बसौँला, सल्लाह गरौँला,’ भनेका छन् ।
ओलीले दुबै पक्षका मुख्यमन्त्री शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, सहइन्चार्ज यामलाल कँडेल, हालै प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, पार्टी पार्टी सचिव मायाप्रसाद शर्मासँगै अन्य नेताहरु प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायतलाई छलफलका लागि बोलाएका हुन् ।
प्रचण्डले बिहीबार ओली समूहका अविश्वासको प्रस्ताव दर्ता गर्ने कामको नेतृत्व लिएका कँडेल, शाह र सचिव शाहीलाई बोलाएर खुमलटारमा उनीहरुका कुरा सुनेका थिए ।
अर्का बरिष्ठ नेता माधव कुमार नेपालले पनि प्रदेश कमिटीका पदाधिकारीहरुसँग छलफल गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले चाहिँ तीन दिनपछि बल्ल आज [शनिबार] बिहान मात्रै उनीहरुलाई सामुहिकरुपमा भेट्ने समय दिएका हुन् । तर, प्रचण्डले प्रधानमन्त्रीको निम्तो अस्वीकार गरे ।