कोरोना सँगसँगै
हिजो पनि उस्तै थियो
आज पनि उस्तै छ
मेरो परिधी
अनि मेरो परिवेश
भोक घटेको छैन,
निन्द्रा बिथोलिएको छैन
घाम , घाम जस्तै छ
काम, काम जस्तै छ
तर यति हो
नजिक अनि समिप सम्झनेहरुसँग पनि
भेटघाट घटेको छ
खानपान घटेको छैन
स्वाद र गन्ध घटेको छैन
केबल सामिप्यता घटेको छ
कागज घटेको छ
अनि
लाग्छ कति कति मान्छेको सोंच घटेको छ।
पहिले आँगनमा उभिंदा
ओइ भनेर बोलाउनेहरु पनि
आइसोलेसन समयमा
म घरको अगाडि सटरमा बसेपछि
सधैं बोल्ने र बोलाउनेहरु
बाटोको तल्लो छेउ हिड्न थालेका छन्
बिपरित दिशा फर्किएर
जानेर या नजानी तर्किएर
मास्क नचिनेका तर मलाई चिनेकाहरु
नाक र मुख छोप्न थालेका छन् ।
सायद,
सायद फोन गर्दा कोरोना सर्छ भनेर होला
केहि आस गरिएकाहरु
फेसबुक स्टाटसमा गेट वेल सून लेखेरै
घाउमा नुन छरे जस्तो गर्छन
बेखबर बनि दिन्छन
आश गरिएकाहरु नै
निराश बनाएर दुरदुर हुन्छन् ।
धन्य कोरोना,
म लगायत सिमितहरुमा मात्र सिमित होउ,
उनिहरुहरुलाई नछोउ,
फेरि मेरो फोन कलले दोष पाउनेछ
फेरि मेरो पेशाले दोष पाउनेछ
तर
जेजे भए पनि
घरको कोठामा सिमित हुँदा म
सहकर्मी साथीहरूलाई तनाव झन बढेको छ।
कर्म र कार्य व्यवस्थापनमा समस्या पक्कै भएको होला
स्वस्थ छु
तर अनुपस्थित हुन बाध्य छु
साथीहरुले न घर परिवार भन्न पाएका छन्
न काम गर्दा पारिवारिक माहोल पाएका छन्
यति हुँदा हुँदैपनि
केहि महासयहरुवाट हुने
पि सि आर सम्बन्धि तनाबले
झन मनोबल कमजोर हुन्छ कि भन्ने लागिरहेको छ
त्यसैले साथीहरुलाई सहयोग गर्न
कोरोनाको युद्धमा एक योद्धा बन्न
अनि
आँफुले गरेको पेशाको धर्म निभाउन
छिट्टै बाहिर निस्कनै पर्ने भएको छ
तर यो भाइरसको केहि बिश्वास छैन
जसले
कति दिन मलाई कोठामा राखेर
उनिहरुलाई बाटोको छेउ
मुख छोपीछोपी हिडन बाध्य पार्ने हो
थाहा छैन
(लेखक पराजुली देवचुली नगरपालिकाका सि.अ.हे.व. अधिकृत हुन् । उनी कोरोना संक्रमित भई आइसोलेसनबाट स्वास्थ्य कर्म गरिरहेका छन् )