मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना संक्रमणका गम्भीर बिरामीको उपचारमा समस्या हुन थालेको छ । कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुने देखिएको अस्पताल सञ्चालकहरु बताउँछन् ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजजस्ता ठूला अस्पतालमा संक्रमितका लागि छुट्याइएका आईसीयू बेड भरिन थालेपछि अब गम्भीर खालका संक्रमितलाई कहाँ राख्ने भन्ने चिन्ता बढेको छ ।
पछिल्ला दिनमा अस्पतालहरुले संक्रमितका लागि आईसीयू बेड मिलाइदिनुपर्यो भन्ने दबाब झेल्न थालेका छन् । जिल्लाका साना निजी अस्पतालले कोरोना संक्रमितको उपचार गरेका छैनन् । ठूला अस्पताल र मेडिकल कलेजमा कोरोना संक्रमितका साथसाथै अन्य रोगका बिरामीको पनि उपचार भइरहेको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले आइसोलेसन बेड खाली हुने तर आईसीयू भरिने अवस्थाले कोरोनाका गम्भीर बिरामी बढेको संकेत गरेको बताए ।
कोरोना संक्रमितको उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ छन् । सो अस्पतालको भेन्टिलेरमा ४ जना संक्रमित छन् । २२० बेडको आइसोलेसन रहेको यो मेडिकल कलेजमा आइसोलेसनमा भन्दा आईसीयूमा बढी चाप छ । पुरानो मेडिकल कलेजले तीन भेन्टिलेटर, १६ बेडको आईसीयूसहित १०० बेडको आइसोलेसन बनाएको छ ।
भरतपुर अस्पतालको १० बेड आईसीयू भरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । उनका अनुसार अस्पतालको सामान्य आइसोलेसन बेडमा चाप छैन तर कोभिड आईसीयूमा एक जना पनि संक्रमित राख्ने ठाउँ छैन । १७५ बेडको आइसोलेसन रहेको यस अस्पतालमा ५५ जना संक्रमित छन् । सूचना अधिकारी पौडेलले आइसोलेसन बेड खाली हुने तर आईसीयू भरिने अवस्थाले कोरोनाका गम्भीर बिरामी बढेको संकेत गरेको बताए ।
आईसीयू बेड कम हुने तर संक्रमित भने गम्भीर प्रकृतिका आउन थाल्दा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको सूचना अधिकारी पौडेलको भनाइ छ ।
यहाँका अस्पतालमा विगतमा सामान्य लक्षण भएका संक्रमित मात्रै आउने गरेकामा पछिल्ला दिनमा बढी जोखिम भएका संक्रमित बढेका छन् ।
चितवनमा ७० भेन्टिलेटर, १५० आईसीयू, ३०० सुविधासम्पन्न शय्या र ६०० वटा आइसोलेसन आवश्यक पर्ने अनुमान छ । तर स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले चितवन जिल्लाले आफ्नो लागि मात्रै तयारी गरेर सुख नपाउने बताउँछन् ।
‘यहाँ त विभिन्न जिल्लाबाट कोरोना संक्रमित उपचारका लागि आउँछन्, हाम्रो जिल्लाको आफ्नो तयारीले मात्रै पुग्दैन’ प्रमुख तिवारीले भने, ‘कहाँबाट कति बिरामी आउँछन् भन्ने थाहा नहुँदा न त अस्पताल न त जनस्वास्थ्यले नै आफ्नो तयारी गर्न सक्छन् ।’