देवचुली,
कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढपछि देवचुली नगरपालिका आपतकालिन बैठक बसेको छ । शनिबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल र विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितीमा नगरपालिका आपतकालिन बैठक बसेको हो । उक्त बैठकमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितबाट मृत्युहुनेको दाहसंस्कार स्थल छनोट र समिति गठन गर्ने र स्वास्थ्य सेवाका कर्मचारीहरुको लागि आवसीय व्यवस्था मिलाउने सम्बन्धमा निर्णय गरिएको छ ।
बैठकले कोरोना भाइरसबाट देवचुली नगरपालिका पनि प्रभावित भएकाले उक्त रोगबाट नगरपालिका भित्रका कुनै पनि संक्रमित नगरवासीको मृत्यु भएको अवस्थामा मृतकको दाह संस्कारका लागि रजहर दाहसंस्कार घाट, केउरेनी दाहसंस्कार घाट, प्रगतिनगर दाहसंस्कार घाट नै उपयुक्त देखिएकाले उक्त स्थललाई नै छनोट गरिएको बताईएको छ । मृतकको शव स्थानीय सुरक्षकर्मीहरुसँगको समन्वयमा सुरिक्षत तरिकाबाट व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
शव व्यवस्थापनका लागि टोलीको आवश्यकता पर्ने हुदाँ प्रगतिनगर दाहसंस्कार स्थलका लागि देवचुली वडा नं १४ का वडाध्यक्ष हेमराज दवाडी, वडा नं १५ का वडाध्यक्ष हरिभक्त भट्टराई, केउरेनी दाहसंस्कार स्थलका लागि देवचुली वडा नं १ का वडाध्यक्ष लक्ष्मण राज भण्डारी, वडा नं ३ का वडाध्यक्ष गोपाल राज शर्मा लम्साल, वडा नं २ का वडाध्यक्ष माधव केसी, रजहर दाहसंस्कार स्थलका लागि देवचुली वडा नं १७ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, वडा नं १६ का वडाध्यक्ष केशर क्षेत्री लगायत सशस्त्र प्रहरी बल दलदलेका प्रमुख, ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख, र सम्बन्धीत स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुखलाई जिम्मा लगाईने निर्णय गरिएको छ ।
यो सँगै नगरपालिकाको अर्काे निर्णयमा देवचुलीमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरु अहिलेको समयमा संक्रमित जुनसुकै बिरामीहरु सँग प्रत्यक्ष सम्र्पकमा रहेकाले उच्च जोखिम पर्न सक्ने हुदाँ स्वास्थ्य कर्मचारीहरुलाई देवचुली ७ को रामबासमा रहेको भिमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा आवसीय रुपमा बस्ने व्यवस्था मिलाई कार्यालय समय बाहेकको समयमा समेत नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाईने निर्णय गरिएको छ ।