क्यामेरा लेन्सले
जति नै सुन्दर खिचे पनि
मान्छेका आँखाहरुले
जति नै सुन्दर देखे पनि
भन्नेहरुले धर्तीकै स्वर्ग भने पनि
मलाई मेरो भूगोल अत्यन्तै कुरूप लाग्छ
मलाई मेरो समाज अत्यन्तै दुष्ट लाग्छ
यहाँ मान्छेहरु
आँखा भएर पनि अन्धा छन्
कान भएर पनि बहिरा छन्
जिब्रो भएर पनि लाटा छन्
जब
मेरो लाजको भाँडोबाट
पहिलोपटक रातो रंग पोखियो
तब मलाई
आकाश हेर्नै दिईएन
उज्यालोको तान्द्रो मेरो शरीरमा पर्दै परेन
केवल म
बाँच्नका लागी बाँचीरहेकी थिएँ
अनि म कसरी गर्व गरूँ
आमा हुनुमा
एकाइसौं शताब्दीमा
दुनियाँ रकेटमा झुण्डिएर
नयाँ पृथ्वीको खोजीमा निस्कन्छ
तर मैले
यहि पृथ्वीको एउटा कुनामा बसेर
आफ्ना नानीबाबुहरुलाई
तुईनमा झुन्ड्याएर
अक्षरका डोबहरु चिनाउन पठाईरहेछु
मेरा त्यही
भरोषाका पित्काहरु
जो भ्यान्टिलेशन जस्ता पोशाक लगाएर
विश्व चिन्न हिँडेका छन्
तिमी
तिनै नादान चेहेराहरुका तस्विर
आफ्ना महंगा क्यामेराका लेन्सले
'जुम' गरीगरी खिचेर
इन्टरनेटको निधारमा टाँसीदिन्छौ
अनि लाचारीपनका कलमले
बडा बडा अक्षरमा लेखिदिन्छौ
"तूईनमा झुण्डिएको मेरो देशको भविष्य "
आदर्श सुशिल
नवलपुर
(कवि ह्याप्पी एफ एमका स्टेसन म्यानेजर हुन)