देवचुली,
लगातरको बर्षाले देशभरमा बाढी र पहिरोको विकराल समस्या उत्पन्न भएको छ । बाढी र पहिरोले सडक अबरुद्ध हुँदा दैनिक हजारौ यात्रुहरु अलपत्र समेत पर्ने गरेका छन् । बर्खायाममा पहाडी क्षेत्रमा पहिरोको समस्या हुन्छ भने तराईमा बाढीको समस्या हुने गर्दछ । नवलपुर जिल्लामा पनि बर्षात पछि बाढी र पहिरोको त्रास उत्तिकै रहेको छ । नवलपुर जिल्लाको पहाडी गाउँपालिका हुप्सेकोट, बुलिड्डटार र बौदिकाली गाउँपालिकामा पनि पहिरोको निकै ठुलो समस्या छ । यस्तै समस्या रहेको छ दलदले धौबादी सडकखण्डको । दैनिकजसो हजारौ यात्रु ज्यानको जोखिम मोलेर यात्रा गरिरहन बाध्य रहेका छन् ।
तर यहाँका प्रशासन, ठेकेदार र जनप्रतिनिधि भने मौन रहेको त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले आरोप लगाएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिकाको दलदलेबाट उत्तर तर्फ हुँदै पहाडी भेगमा रहेको प्रगतिनगर रामपुर राजमार्गमा हरेक वर्षको बर्खायाममा पहाडी भेगका मानिसहरुले समस्या झेल्दै आईरहेका छन् भने कतिले ज्यान नै गुमाएका छन् ।
दैनिक रुपमा ६ दर्जन भन्दा बढि यात्रुहरु सवारी साधनमा आनो ज्यान जोखिममा राखेर आवतजावत गर्दै आइरहेका छन् । दैनिकी आर्यआर्जन, लत्ताकपडा र खाने अन्नको लागि स्थानीय बजारसम्म ओहोरदोहोर गर्ने गर्छन तर बाटोले ज्यान नै लैजाने हो कि भन्ने चिन्ता लाग्ने स्थानीय बताउँछन् ।
करिब एक महिना पहिले अबरुद्ध भएको यस सडकखण्ड २१ दिनमा एकतर्फी संचालनमा आएपछि यात्रुहरुलाई जोखिम मोलेर गन्तव्यमा पु¥याउने गरेको बोलेरो चालक होम फेवाली बताउँछन् । २१ दिनमा एकतर्फी बाटो संचालनमा आएपनि सवारी साधन जेसिवी लगाएर तान्नुपर्ने अवस्था रहेको फेवाली गुनासो गर्नुहुन्छ ।
यस्तै धौबादीमा लामो समय देखि व्यवसाय गर्दै आएका नारायण भण्डारीले एक ठाउँमा मात्र नभई धेरै ठाउँमा बाटोको अवस्था दयनीय रहेको बताए । उनले स्थानीय सरकार र ठेकेदारको मिलेमितो रहेको आरोप लगाउँदै बाटो अबरुद्ध भएर फोन गर्दा फोन नउठाउने बताउनुभयो । बाटो बनाउँछौँ भनेर आश्वासन दिने तर बाटो बिग्रेर दैनिकी चलाउन गाह्रो हुँदा समेत यहाँका प्रशासन, ठेकेदार र जनप्रतिनिधि भने मौन रहेको भण्डारीले गुनासो गर्नुभयो । नवलपुर जिल्लाको सिडीओलाई आफुले पटक–पटक फोन गर्दा पनि फोन नउठाउने बताउनुभयो । बाटो बन्द भएका कारण बिरामीले ज्यान गुमाउँदा समेत यहाँका प्रशासन, ठेकेदार र जनप्रतिनिधिले कुनै चासो नदेखाएको उनले बताए ।
एक्काईस दिनसम्म पुर्वपश्चिम राजमार्गबाट १२ किलोमिटरको दुरीमा रहेको बाटो बन्द भएर स्थानीयलाई समस्या हुँदा पनि सम्बन्धीत निकायले कुनै चासो नदेखाएकाले उनीहरुलाई कारवाही गर्नुपर्ने भण्डारीले बताएका छन् । मोटरसाईकल एक पटक ओहोरदोहोर गर्न पाँच सय तिरेर पहिरोको बाटो कटाउनुपर्ने अवस्था रहँदा यहाँका सम्बन्धीत निकायको मिलोमतो रहेकाले छानबिन गर्नुपर्ने बताएका छन् ।