मृतक वृद्धको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले होम क्वारेन्टिनमै बसेका व्यक्तिको मृत्यु भएकाले उनको शव सुरक्षित रुपमा शव गृहमा राखिएको बताए । कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै ती व्यक्तिको अन्तिम संस्कार गरिने उनले बताए ।
मृतक वृद्ध यही साउन ८ गते भारतबाट नेपाल आएका थिए । रोजगारीको शिलशिलामा उतै बस्दै आएका उनी रातीको समयमा घर आएकोले स्थानीयले समेत जानकारी पाएका थिएनन् । भारतबाट आएको जानकारी पाएपछि उनलाई १४ दिन होम क्वारेन्टिनमै बस्नका लागि स्वीकृति दिएको थियो । १४ दिनपछि मात्रै स्वाब परीक्षण गर्ने तयारी गरिएपनि शुक्रबार दिउँसो १२ः३० बजे नै उनको मृत्यु भएको कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । उनका अनुसार बिरामी आमालाई भेटन् ती वृद्ध घर आएका थिए । उनको कोरोना रिपोर्ट आएपछि मात्रै थप विवरण संकलन गरिने प्रमुख भण्डारीले जानकारी दिए ।