देवचुली,
देवचुली नगरपालिका वडा नं १३ दलदलेमा रहेको सशस्त्र प्रहरी बल नेपाल औधोगिक सुरक्षा बलको २ कोठे भवनको समुद्धघाटन गरिएको छ । बुधबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले नव निर्मित भवनको समुद्धघाटन गर्नुभएको थियो । बेश क्याम्पको २ कोठे भवन समुद्धघाटन कार्यक्रमको अध्यक्षता भवन निर्माण समितिका संयोजक एवं दलदले बजार ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपानेले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नगर प्रमुख श्रेष्ठले देवचुली नगरपालिकाको सुरक्षाको लागि मात्र नभई देवचुलीकै गहनाका रुपमा स्थापित भएको सशस्त्र प्रहरी बेश क्याम्पलाई सबैले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि रहनुभएका देवचुली नगरपालिका वडा नं १३ का वडाध्यक्ष एवम प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीले देशको सुरक्षाका लागि रातदिन खटिएका सुरक्षाकर्मीका लागी नेपाल सरकारले पर्याप्त सेवासुविधा दिन नसकेको गुनासो गर्दै उनिहरुका लागी आवश्यक सुबिधाका लागी पहल गर्नुपर्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा बिशेष अतिथी रहनुभएका सशस्त्र प्रहरी नायव उपरिक्षक गुल्मपति भानुभक्त लम्सालले समाजमा घटेका घटनामा तत्काल पुग्नुपर्ने हुँदा सवारीसाधन नहुँदा समयमा पुग्न नसक्ने भएकाले संस्थालाई एउटा गाडीको आवश्यकता परेको र त्यसका लागि आफुले पहल गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा अध्यक्षता रहनुभएका दलदले बजार ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपानेले २ कोठे भवन निर्माणका लागि निकै चुनौती आपनाउनु परेता पनि कोठा निर्माण गर्न सफल भएको बताउँदै सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, सशस्त्र प्रहरी बेश क्याम्पका प्रमुख बलराम गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा २ कोठे भवन निर्माण गर्न सहयोग गर्ने दाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
सशस्त्र प्रहरी बल क्याम्प दलदलेको २ कोठे भवन निर्माणका लागि ४ लाख ८४ हजार १ सय ६० लागतमा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण कृष्ण गौतमले गर्नुभएको थियो ।