देवचुली नगरपालिकाको विपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे सहितको नगरपालिकाको टोलीले आइतबार बिहान बौलाहा खोलाले पुर्याएको क्षतीको स्थलगत अवलोकन पश्चात् देवचुली नगरपालिकाको सभाहलमा सो बैठक सम्पन्न भएको हो। बैठक देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न भएको हो। बैठकमा प्रमुख जिल्ला अधिकारी घिमिरे सहित चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन नारायण रुपाखेती, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि,सामाजिक ब्यक्तित्व तथा खोला पिडित स्थानियहरुको उपस्थिती रहेको थियो। बैठकमा स्थानिय बिक्रम मल्ल, हरिशंकर लुइटेल, ढुण्डीराज केसी, शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डे, नवलपुर उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद गौतम, जनज्योती नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद काफ्ले, दिब्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिल प्रसाद पाठक लगायतले बौलाहा खोलाले बिगत देखि नै देवचुली नगरपालिकाको वडा नं १,३,५,७,८,१२ र १३ का बासिन्दालाई बर्षेनी दुस्ख दिंदै आईरहेकोले यसको दीर्घकालीन समाधानको लागि पहल गर्नुपर्ने बताएका थिए। यसैगरी राजनैतिक दलका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रेमा खनाल, नेपाली काङ्ग्रेसका रबिलाल सापकोटा, जनता समाजबादी पार्टीका दुर्गा प्रसाद भुसालले आफ्ना भनाई राख्नुभएको थियो। उहाँहरुले बौलाहा खोलाको तटबन्धनका लागी चितवन राष्ट्रिय निकुञ्जबाट स्विकृति लिनु पर्ने, तिनतहका सरकारसँग पहल गर्नुपर्ने जस्ता समस्या भएकाले तत्काल ती सबै समस्या समाधान गर्नुपर्ने बताउनु भयो।
बैठकमा आफ्ना धारणा राख्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले बर्षाको समयमा नवलपुरका ठुला साना सबै खोला नाला र नारायणी नदिमा कटान र डुबानको समस्यासँगसँगै दाउन्नेमा पहिरोको समस्या रहेकाले बिपत व्यवस्थापन समितिको सकृयतामा स्थानियलाई सुरक्षा हुनेगरी कार्य गरिने बताउनु भयो।
बौलाहा खोला र नगरपालिकाका अन्य खोलाबाट हुने जोखिम कम गर्न नगरपालिकाले तत्काल मेशजाली लगाउने, अत्यावश्यक ठाउँमा चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरि जेसिबी र स्काभेटर प्रयोग गरि नदिको बहाव सोझ्याउने काम गर्ने निर्णय गरेको छ । साथै सो क्रममा नदिजन्य बस्तुको अवैध निकाशी नहोस भनी स्थानिय जनप्रतिनिधि र पुर्वाधार इन्जिनियरहरुबाट नियमित अनुगमन गरिने निर्णय गरेको छ।