बलात्कारको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका सिराहका २४ वर्षीय युवक दुर्गेस यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले दावी गरेको छ ।
सिराहको औराही गाउँपालिका –३ का २४ वर्षीय युवक दुर्गेस यादवलाई राखिएको हिरासतमा सुसाइड नोट फेला परेको छ। साे हिरासत कक्षमा फेला परेको सुसाइड नोटको माथी अंग्रेजीमा लेखिएको छ, ‘आइएम नट अटेम्प्ट द रेप, प्लिज सेभ मी गड।’
त्यसपछि उनले नेपालीमा लेखेका छन्, ‘मैले कसैलाई रेप गरेको छैन, मलाई आरोप लगाइएको छ म त्यस्तो मान्छे पनि होइन, नराम्रो सोचेको होइन, म यस्तो आरोप सहेर बाँच्न सक्दिनँ। म माथी लगाएको आरोप सहेर बाँच्न सक्दिनँ, म आफ्नो कारणमा जिम्मेवार म आफैं हो। म यो दुनियाँबाट बिदा हुन गइरहेको छु।’
ललितपुर प्रहरी हिरासतमा ७ जना थुनुवा रहे पनि अरु पहिले नै आएका र उनीहरुको काेरोना परीक्षण भइसकेको थियो ।
यादवमाथि एक महिलालाई मकैबारीमा बलात्कार गरेको आरोप लागेको थियो । यादव बलात्कारको मुद्दामा यही असार १४ गते ललितपुरको ग्वार्कोबाट पक्राउ परेका हुन् । पक्राउपछि उनलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो ।
यादवसँगै अन्य २ युवकले पनि महिलालाई बलात्कार गरेको खुलेको छ । ‘ती दुई युवाहरु को थिए ? तिनीहरुलाई प्रहरीले किन खोज्दैन ?’ यादवका आफन्तको प्रश्न छ । बलात्कार प्रयास भएकी महिलालाई समेत हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने यादवको परिवारको माग छ ।
बुधबार बिहान शौचालय गएका यादव निकै समय नआएपछि प्रहरीले बोलाएका थिए । तर उनी नबोलेपछि ढोका फोरिएको थियो। उनी भित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।
हेल्थ असिस्टेन्ट (स्वास्थ्य सहायक) रहेका यादव कोटेश्वरमा बस्दै आएका थिए। उनको शव बुझ्नका लागि सप्तरीबाट आफन्त आउँदै गरेको प्रहरीले जनाएको छ।
बलात्कार भएको आरोप लगाएकी महिलाले अन्य दुई जना युवकलाई समेत चिनेको पाइएको छ । साथीको कोठाबाट घर फकिँदै गर्दा आफूमाथि बलात्कारको प्रयास भएको ती महिलाको भनाइ छ ।