वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ ।आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ।निर्जला एकादशीको दिन(ज्येष्ठ शुक्ल एकादशीका दिन) छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ।आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महीनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास छ।चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।