सुरुमा फाट्टफुट्ट देखा सलह कीरा पछिल्ला केहीदिन यता चितवनका बालीहरुमा क्षति पुर्याउन थालेको छ । झुण्ड झुण्ड देखिन थालेको सलह कीराले मकै, बाख्रापालन गर्दै आइरहेका किसानले लगाएको घाँसमा क्षति पुर्याउन थालेका छन् ।
भरतपुर महानगरपालिका–२९ स्थित स्याउलीमा स्थानीयहरु सोमबार दिनभर सलह धपाउनमा व्यस्त थिए । सोही स्थानमा बाख्रापालन गर्दै आइरहेका जनक बानियाँले सलहले मकैसंगै लगाईएको घाँसमा समेत क्षति पुर्याएको बताए । उनले नारायणी अनलाइनसंग भने–‘आइतबार साँझ केही संख्यामा मात्रै सलह देखिएको थियो, सोमबार बिहानैदेखि संख्या बढेको छ, धपाउनै मुश्किल परेको छ ।’
स्थानीय युवाहरु मकै बारीमा पसेल सलह धपाउन प्रयास गरेका थिए । तर सलह धपाउन नसिकएको एक युवकले बताए । ती युवकले भने–‘सलह धपाउन निकै गाह्रो हुँदो रहेछ, एक ठाउँबाट धपायो अर्को ठाउँमा बस्दो रहेछ, सकिदो रहेनछ ।’
नारायणगढस्थित अन्तरगत दासढुंगाबाट केही माथि रहेको सो गाउँमा अहिले छपक्कै सलह कीरा देख्न सकिन्छ । स्यालीमा मात्र नभई जिल्लाका अन्य क्षेत्रमा समेत सलहले क्षति पुर्याउन थालेको छ । कालिका नगरपालिकामा मकै र चिउरीमा समेत सलहले क्षति पु¥याउन थालेको स्थानीयबासी बताउँछन् ।
यता कृषि ज्ञान केन्द्र चितवन र कृषि आधुनीकिकरण परियोजना, कार्यान्वय इकाईले चितवनले सलह कीरा देखे सम्पर्क गर्न आग्रह गरेका छन् । ज्ञान केन्द्रका प्रमुख राजन ढकाल र परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत मेघराज तिमल्सेनाले सूचना नै जारी गरी सलह कीरालाई रोक्न बारे किसानलाई जानकारी गराएका छन् ।
उनीहरुले सलह धपाउन संभव नभए रासायनिक विषादीको प्रयोग गरेर भए पनि सलहलाई धपाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।