गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।शव व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ ।
उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसको बिरामी उनी रहेको भारतमा उपचार गरेर फर्किएका थिए । बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए । उनलाई भारतबाट नेपाल ल्याएका अर्का एक जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।भारतबाट आएपछि उनलाई छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो । गुल्मी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ । हालसम्म पीसीआर परीक्षणको लागि ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४८ जनाको रिपोर्ट आउन बाँकी छ ।