आज करिब ६ सय ८५ जना नेपाली स्वदेश फर्किने भएका छन् । हिमालयका २, नेपाल वायुसेवा निगम र जजिरा एयरको जहाजले १/१ उडान मार्फत उनीहरु आउनलागेका हुन् ।
मंगलबारको सर्वोच्च अदातलको आदेशअनुसार सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कोभिड १९ तथा लकडाउनका कारण अलपत्र परेका नेपालीलाई श्रमिक कल्याणकारी कोषमार्फत ल्याउने भएको छ ।
सर्वोच्चले ‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगी फर्किनुपर्ने अवस्थामा रहेका तथा गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरुमध्ये पनि रोजगारीको प्रकृति, आयस्रोतका कारण आफ्नो खर्चमा स्वदेश फर्किन नसक्ने अवस्था भई अलपत्र परेका’ नागरिकलाई तत्काल उद्धार गर्न भनेको छ।
वैदेशिक रोजगारीमा जानेहरुले श्रम स्वीकृति लिँदा जम्मा गरेको ‘वैदेशिक रोजगारी कल्याणकारी कोष’को प्रयोग गर्न सकिने सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराई र हरि प्रसाद फुँयालको संयुक्त इजालासले आदेश दिएको छ।
दूतावाससँगको समन्वयमा हुने चार्टर्ड उडानमा यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेटेटिभ वा कोभिडको लक्षण नभएको स्वास्थ्यकर्मीको प्रमाणित प्रमाण पेश गरेको हुनुपर्नेछ । चार्टर्ड उडान यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुनसक्ने र जहाजमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
हिमालय एयरलाइन्सले ढाका उडान गरेको छ । त्यहाँबाट १ सय १४ जना फर्किनेछन् ।
हिमालयकै अर्को जहाजले काठमाडौंबाट १४ जनालाई सिंगापुर लगेर त्यहाँबाट फुल सिट क्षमतामा नेपालीलाई काठमाडौं ल्याउने भएको छ। करिब १५६ सिट क्षमता भएको ए ३२०ले फुल क्षमतामा नेपाली ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो।
यसअघि हिमालयले मंगलबार श्रीलंका र माल्दिभ्सबाट नेपाली उद्धार गरिसकेको छ।
सोमबार र मंगलबार उद्धार उडान गर्न नसकेको नेपाल वायुसेवा निगमले बुधबार बिहान १६ यात्रु बोकेर बैंकक उडान गरेको छ । निगमको ए–३३० वाइडबडी जहाजले २५० नेपाली ल्याउने जानकारी छ ।
निगमले आइतबार बंगलादेशबाट नेपालीको उद्धार गरेको थियो।
त्यस्तै, कुवेतमा अलपत्र परेका नागरिक लिएर चौथो जहाज आज काठमाडौं आउँदै छ । कुवेतबाट जजिरा एयरले १ सय ६८ जनालाई नेपाल ल्याउनलागेको हो ।
त्यस्तै बुधबार त्रिभुवन विमानस्थलमा मलेसियन एयरले कार्गो लिएर आएको छ । उक्त जहाजले ८ जना यात्रु मलेसिया लैजानेछ ।
कूटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने अवस्थामा रहेका भनी प्रमाणित भएका कामदारहरुलाई नेपाल ल्याई गन्तव्य स्थानसम्म पु¥याउनुपर्ने राज्यको दायित्व रहेको आदेशमा भनिएको छ।
निगमले यसअघि जुन १४ देखि २५ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । जुन १५ र १६ को उडान रद्द भएको थियो । पछिल्लो पटक निगमले उडानको नयाँ कार्यतालिका बनाएको छ ।
निगमको उडान तालिकाअनुसार जुन १७ मा थाइल्याण्डको बैंकक रहेको छ । त्यसैगरी जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९मा जापानको नारिता र बुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।
त्यसैगरी जुन २१ मा ढाका, दक्षिण कोरिया र बहराइन जुन २२ मा अष्ट्रेलियाको सिङ्नी र बैंकक उडान हुनेछ । त्यस्तै जुन २३ मा नारिता र माले, जुन २४ मा नारिता साउदी अरबको जेद्दा, जुन २५ मा बहराईन, जुन २६ मा मेलबर्न, जुन २७ मा मेलबर्न, जुन २९ मा तेल अभिव, साइप्रस, जेद्दा र जुन ३० मा साइप्रसका लागि उडान निर्धारण गरिएको छ ।