चितवनममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको आज (मंगलबार) विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी छ । जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आपत्ति जनाउनुभएको छ । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको बताउनुभयो । मेसु तिवारीले बिरामी ल्याउँदा समेत सावधानी नअपनाएको बताउनुभयो । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएका थिए ।