देवचुली,
रिपोर्टड्ड: एलिना केसी
कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्वलाई नै आक्रान्त पारिरहेको छ । नेपाल सरकारले यसबाट बच्नको लागि करिब २ महिना देखि देशलाई नै लकडाउनमा राखिरहेको छ । लकडाउनमा समय बिताउनको लागि कतिपयले घरमै आँफुहरुलाई खान पुग्ने तरकारीहरु उब्जाएकाछन् भने ब्यवसायिक तरकारी उत्पादक किसानहरु भने मर्कामा परेका छन् । यस्तै भएको छ देवचुली नगरपालिका वडा नं ५ निलपोखरीका तेजुराम पौडेललाई । समयमा तरकारी बिक्री हुन नसक्दा उनी निकै मर्कामा परेका छन् ।
पौडेलले देवचुली नगरपालिका वडा नं ४ झाँक्रेमा बिगत ५ बर्ष देखि दुई बिगाहा जग्गामा तरकारी लगाउदैँ आइरहेका थिए तर अहिले लकडाउन लम्बिएपछी तरकारी खेतीमा पनि निकै असर पुर्याएको छ । दिनरात नभनि पसिना बगाएर मेहेनत गरेर लगाएको तरकारी एक्कासी यस्तो भाइरस आई तरकारी बारीमै कुहाउन पर्ला भन्ने नसोचेको उनी सुनाउँछन् ।
पौडेलले झण्डै २ विगाहा जग्गामा लगाएको बोडी, घिरौला, लौका, भेन्डी, भेन्टा, खुसार्नी, फर्सी, करेला बारीमै कुहिन थालेका छन् । लकडाउन हुनु भन्दा केही दिन अगाडी तरकारीको मुल्य राम्रो रहेको तर अचानक लकडाउन भएपछि १० रुपैया किलो दिन्छु भन्दा पनि कोहि नआएको पौडेलले गुनासो गर्छन ।
पहिले पोखरा र बुटबल पुग्ने तरकारी लकडाउन भएपछि पनि कावासोती देखि भेडाबारीबाट व्यापारीहरु तरकारी उठाउन आउने गरेको तर अहिले कतैबाट पनि कोही नआउँदा मर्कामा परेको पौडेल बताउँछन् ।
लामो समय खाडी मुलुकमा पसिना बगाए पछि अब आफ्नै ठाउँमा माटोसँग रमाउनुपर्छ भन्ने सोच आएपछि उनी नेपाल आएर जग्गा लिजमा लिएर तरकारी खेती सुरु गरे । बिस्तारै राम्रो हुदै थियो तर अचानक कोरोना भाइरस आए पछि आँफुले लगाएको तरकारी बारीमै कुहिन थाले पछि उनी निकै चिन्तामा पर्न थालेका छन् । ‘गाउँमा तरकारी ब्रिकी हुँदैन, बजारमा सबै पसल बन्द’ बारीमा कुहिन बाहेक कुनै बिकल्प नरहेको पौडेल बताउँछन् ।
वडा, कृषि ज्ञान केन्द्र र स्थानीय सरोकार निकायबाट बेलाबेलामा सहयोग पाए पनि बजार व्यवस्थापन नहुँदा किसानहरुलाई बजार व्यवस्थापनमा प्रोत्सान गर्नुपर्ने पौडेलको भनाई छ । अहिलेको समयमा ३ लाख लगानी गरेर लगाएको तरकारी डेढ लाख पनि आउन मुस्किल रहेको उनी बताउँछन् । यो बर्ष उनले खर्च कटाएर ७ लाख आम्दानी गर्ने सोंच बनाएका थिए तर भाइरसले तरकारीमा निकै नोक्सान बेहार्ने पर्ने अवस्था आएको उनी बताउँछन् ।
देवचुली नगरपालिका वडा नं ४ का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्रीले लकडाउनको समयमा कृषकहरु माथि परेको समस्यालाई समाधान गर्न स्थानीय सरकार र वडाबाट सहयोग गर्ने बताउनुभएको छ ।