जाजरकोट : जाजरकोटवासीले अघोषित लोडसेडिङको मार खेप्नु परेको छ। लोडसेडिङ नभए पनि छिनछिनमा विद्युत जाने समस्याले उपभोक्ता मात्र होइन, स्वयं विद्युतका कर्मचारीले पनि हैरान छन्। डसेडिङ छैन, तर विद्युत पनि छैन। यस्तै समस्याको मारमा छन् जाजरकोटकाबासिन्दा।कतिबेला विद्युत आउँछ। कतिबेला जान्छ, ठेगान नै हुँदैन भेरी नगरपालिका- ४ का जीतबहादुर शाहले भने,' 'सामान्य हावा चल्ने वित्तिकै बत्ती जान्छ कति बेला आउँछ पत्तै हुँदैन।'
विद्युत प्राधिकरणले न उपभोक्तालाई विद्युत जाने सूचना दिन्छ न आउने नै। छिनछिनमा विद्युत जाँदा सरकारी कर्मचारी र संचारकर्मी निकै मारमा छन्। ३३ केभीएको कोहलपुर स्टेशनबाट धेरै ठाउँमा विद्युत वितरण भएको हुँदा समस्या आएको विद्युत प्राधिकरण जाजरकोटका प्रमुख लोकबहादुर खड्का बताउँछन्। 'बढीमा ६० किलोमिटर दूरीसम्म पावर सप्लाई गर्न सकिन्छ तर दुई सय किलोमिटर भन्दा टाढासम्म वितरण गरिएकाले पनि समस्या आएको हो, उनले भने, 'सब स्टेशन नहुँदा एक ठाउँमा समस्या आउँदा सबै ठाउँको विद्युत बन्द गर्नुपर्ने बाध्यता छ।'
अहिले जाजरकोटमा पटक पटक विद्युत अवरोध लोडसेडिङले नभई प्राविधिक समस्याले भएको उनले बताए। उनले भने, 'सिस्टममा आएको खराबीले समस्या देखिएको हो। जाजरकोटका साथै सुर्खेत, सल्यान, पश्चिम रुकुम र दैलेखको कुनै पनि ठाउँमा विद्युतमा कुनै खराबी आए सिधैं कोहलपुर स्टेशनबाटै विद्युत बन्द हुने गरेको छ। जसका कारण पनि यी पाँच जिल्लाका वासिन्दा अघोषित लोडसेडिङ्गको सास्ती खेप्न बाध्य छन्।'
कतिपय अवस्थामा मर्मतमा ढिलाई हुने र कतिपय अवस्थामा सिस्टमले नै काम नगर्दा समस्या हुने गरेको प्रमुख खड्काले बताए। हिजोआज जाजरकोटमा दैनिक २० औं पटक विद्युत अवरुद्ध हुने गरेको छ।त्यतिमात्र होइन, ग्राहक साँझपखको कम भोल्टेजका कारण थप समस्या भोग्न बाध्य छन्।
विद्युत प्राधिकरण अनुसार कोहलपुरदेखि जाजरकोट आउने ३३ केभीए प्रसारण लाइन निकै पुरानो भएकोले समस्या हुने गरेको हो। नयाँ १३२ केभीए लाइन नबन्दा सम्म यो समस्या यस्तै भैरहने प्राधिकरणको भनाई छ। सरकारले कर्णाली प्रदेशका विभिन्न जिल्लाका लागि सुर्खेतको सुब्बाकुनामा विद्युत वितरण स्टेशन बनाउने तयारी अगाडी बढाइसकेको छ।
जाजरकोटको कुदुमा सबस्टेशन बनाउने कार्य भइरहेको छ। जाजरकोटको चौखा र बडावनमा समेत विद्युत वितरण सब स्टेशन बनाउने तयारी भैरहेको छ।