कारोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुसहित आफन्त अस्पतालबाट डिस्चार्ज भएका छन् ।
धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनीहरुमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
दोहोर्याएर पीसीआर जाँच गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
सुरुमा शिशुमा हल्का जन्डिस देखिएको थियो । शुक्रबार पुनः जाँच गराउँदा बाल रोग विशेषज्ञले निको भइसकेको र डिस्चार्ज गर्न योग्य भएको निष्कर्ष दिएको अस्पतालले जनाएको छ ।
अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरु एक साता सम्बन्धित क्वारेन्टाइनमा बस्नु पर्ने छ । त्यसपछि आरडीटी गरी घर पठाइने छ ।
तर, कुनै एक जनामा कोरोनाको लक्षण देखिए पुनः पीसीआर जाँच गर्नु पर्ने अस्पतालले प्रष्ट पारेको छ ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरालाई जन्म दिएर डिस्चार्ज भई घर गएकी सुत्केरीको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा जेठ २१ गते मृत्यु भएको थियो ।
पीसीआर जाँचका क्रममा रिपोर्ट पोजेटिभ आएपछि महिलाको मृत्युलाई नै कोरोनाबाट भएको नेपालको पहिलो मृत्यु घोषणा गरिएको थियो ।