२० जेठ, काठमाडौं
। गुणस्तर तथा नापतौल विभागले नेपाल आयल निगमका सबै ट्यांकरको नापजाँच गर्ने भएको छ । निगमको डिपोबाट तोकिएको परिमाणभन्दा थोरै मात्रामा तेल डिलरहरुमा पठाइएको गुनासापछि ट्याङ्कर जाँच गर्न लागिएको विभागले जनाएको छ ।गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले निगमको थानकोट कार्यालयलाई परिपत्र गर्दै निगमको थानकोट डिपोबाट बिक्रि वितरण हुने प्रेट्रोलियम पदार्थ ढुवानीमा संलग्न सबै ट्यांकरहरुको स्ट्याण्डर्ड जाँच गर्न भनेको छ । निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा विगत लामो समयदेखि विवाद छ । निगमको डिपोबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरुको विद्यमान मापदण्डले आफूहरुलाई अन्याय भएको गुनासो व्यावसायीहरुले गर्दै आएका छन् ।भारतीय क्यालिब्रेसनले ट्यांकरहरुमा एक सय लिटरसम्म कम इन्धन हुने गरेको व्यवसायीको दावी छ । हरेक वर्ष इन्धन बोक्ने ट्यांकरको क्यालिब्रेसन गर्नुपर्ने नियम भए पनि निगमको इन्धन बोक्ने ट्यांकरले यो नियम पालना गरेका छैनन् । भारतीय क्यालिब्रेसन नेपाली मापदण्डको नहुने भएकाले नेपाली मापदण्डका लागि नेपालमै क्यालिब्रेसन अगाडि बढाइएको बिभागका निर्देशक विश्वबावु पुडासैनीले बताए ।भारतमा अण्डर क्यालिब्रेसन गरेर इन्धन ढुवानी भएको हुनसक्ने आशंकालाई नापतौलको क्यालिब्रेसनले चिर्ने पुडासैनीको विश्वास छ । इन्धन भरिएको ट्यांकरमा तोकिएको मात्रामा इन्धन छ कि छैन भनेर नाप लिइने प्रविधिलाई क्यालिब्रेसन भनिन्छ । गुणस्तर तथा नापतौल विभागले दुई वर्षदेखि यो प्रविधि प्रयोगमा ल्याएको थियो ।नेपालमै क्यालिब्रेसन गरिने भए पनि निगमको इन्धन बोक्ने ट्यांकरले भारतीय क्यालिब्रेसनको कागज देखाउँदै आएका थिए । निगमको डिलरबाट पम्पमा पुग्ने ट्यांकरमा क्यालिब्रेसन गरिँदा इन्धन चोरी हुने समस्याबाट व्यवसायीले मुक्ति पाउने छन् ।