मनोज बिराली
काठमाडौं
ईटहरी बजारको आकाश यति सुनसान मैले पहिला कहिल्यै महसुस गरेको थिईन । चारोको खोजिमा उडिहिंड्ने चराहरु आकाशै छोडेर हिड्नुपर्ने के प्रयोजन हुनसक्छ ? तीन तले घरको छतमा उभिएर बेलुकीपखको परिवेश नियाली रहँदा मैले जीवन क्रमश जटिलताको खाडल भित्र भाँसिदै गएको महसुस गरिरहें। मानिस जगतकै सबश्रेष्ठ प्राणी भनेर जन्मकाल देखि सुन्दै पढ्दै आएको थिएँ । तर वर्तमान अवस्थामा विश्वभरी फैलिरहेको कोरोना भाइरसले जन्माएको त्रास, महामारी र मृत्युको माहोलले मानिस संसारकै कमजोर आत्मा रहेको ज्ञात भयो मलाई । जाबो एउटा भाइरसले संसार हल्लाउँदो रहेछ । अनि केको घमण्ड गर्नु । चिनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संसार भर फैलन थालेपछि आफ्नो देशमा फैलिन नदिनका लागि गरिएको लकडाउनले धेरैलाई बिचल्लीमा पारेको छ। गन्तव्यमा हिडेकाहरु बिच बाटतिरै अलमलिएका छन् । ब्यापार ब्यवसाय ठप्प छन्। बिहान बेलुका फाट्टफुट्ट खाध्यानका पसलमा देखिने ग्राहक बाहेक मानिसहरुको भिड देख्न छोडिसक्यो । समग्रमा अत्यास लाग्दो छ सहर ।
भान्जाभान्जीहरुको माझमा रहँदा एक हप्ताको लकडाउन कटाउन उति मुस्किल परेन मलाई । तर त्यसपछि भने क्रमश बैरागीन थाल्यो मन । काठमाडौ फर्किने हुटहुटिले पासको खोजिमा ईनरुवा जिल्ला बिकासको कार्यालयसम्म पुर्यायो । तर ब्यक्तिलाई पास उपलब्ध नगराउने भएको हुनाले निराश भएर फर्किनु पर्यो । अब घर फर्किने कसरी ? साधन छ पास छैन । म के गरुँ र कसो गरुँको छट्पटीमा रुमल्लिएँ । ईन्डियामा लकडाउन उल्लंघन गर्नेलाई भाटे कारवाही गरिएको भिडियो हेरेर नेपालमा पनि लाठीचार्ज गर्न थालिएको छ । हामी आफ्नो विवेकमा चल्ने भन्दा देखासिकीमा बाँच्न बानी परेका मानिस हौं । पहिचानको नाममा अभिनय गरेर बाँच्न रुचाउनु कतिको सान्दर्भिक होला ? म जान्दीन । तर यति सम्म परनिर्भर ठिक नहोला सायद । खानु र बस्नु सिवाय केही काम नहुनाले शरीर बोदो बन्दै गइरहेछ क्रमश । सामाजिक संजालमा कोरोना बाहेक केही छैन स्ट्याटस । चाहिने नचाहिने समाचारले मानिसलाई झनझन दुबिधामा पारिरहेछ । केही धर्मावलम्बीहरु रुमालले पेटमा हिर्काएर कोरोना भगाउने मिथ्या नाटक गरिरहेछन् । अन्धविश्वासको पनि एउटा सिमा हुन्छ नि यार ! दिनप्रतिदिन उष्णताको खुड्किलो चढिरहेको मौसमले मलाई भोर्चुअल रुपमा बफ्याइ रहेछ । त्यसमा छट्पटीको गिर खेलाइ । मैले मलाई नै सम्हाल्न हम्मेहम्मे परिरहेछ । काठमाडौं फर्किन पाए परिवारसँग घुलमिल गरेर दिन कटाउन सहज हुनेथियो । खोजी - खोताली गर्दा पर्समा प्रेसको कार्ड भेटियो । अब यहि कार्ड घाटीमा झुन्ड्याएर काठमाडौ फर्किने निधो गरे मैले । ( उसो त यही प्रेसको कार्डको बिषय पनि निकै लामो छ । जुन मलाई र आदर्श सुशिललाई थाहा छ । जुन बिषयलाई खनि- खोस्री गर्नुपर्ने आवश्यकता ठानिन मैले )
दिनको एक बजेको छ । मोटरसाइकलको अगाडि "PRESS" लेखेर टाँसेको छु । गोरुको घाँटीमा घण्टी झुन्ड्याए जसरी प्रेसको परिचयपत्र झुन्याएर बाटो लागें म ।
ईटहरी बसपार्कमा केही भुसिया कुकुरहरु हिडडुल गर्नु सिबाय केही छैन । छेउको प्रहरी कार्यालय बाहिर दुईजना प्रहरी मोबाइल चलाएर बसेका छन् । पल्तिरको सार्वजनिक शौचालयले ट्वाँ परेर नियाली रहेछ यात्रु बिहिन बसपार्क । यसरी सर्सर्ती अवलोकन गर्दै अगाडि बढ्दै गर्दा खै किन हो घाटको बाटो हिडिरहेझै लाग्यो मलाई । पूर्ण शून्यता ।
कोसीटप्पुको पुल तरिसकेपछि निकै बेतोडका साथ चल्न थाल्छ बतास । छाता ओढेर बाटो छेउमा उभिएका र केही बसेका गोठालाहरुको अनुहारमा सन्तुष्टीको शेष सम्म देख्दिन म । कारण लकडाउन या अरुनै हो ? मैले हतारमा ठम्याउन सकिन । प्रत्येक एक किलोमिटरको फरकमा बसेका चेकिङ प्रहरीहरुको खुकुलोपनले यात्रा गर्न त्यति असहज भएन मलाई । र पनि मनमा त्रास भने बिद्धमान छ । एम्बुलेन्स, खाद्यान्नको गाडी ,पत्रकार तथा पास बोकेर हिडेका मोटरसाइकलहरुको फाट्टफुट्ट ओहोरदोहोर छँदै छ सडकमा । कतैकतै पछाडि झोला भिरेर हिंडिरहेका पैदल यात्रुहरु पनि देखिन्छन् । गन्तव्य सबैको आवश्यकता जो हो । ईटहरीबाट हिडेको दुई घण्टामा ढल्केवर आइपुगें म । ओहो! यहाँ त प्राणीको नाममा किराफट्यांग्रासम्म छैनन् । सडक किनारमा रहेको आँपको रुख मुनि मोटरसाइकल रोकेर एकछिन विश्राम गर्ने निधो गरे मैले । त्यसबेला मलाई एक्कासि खगेन्द्र संग्रौलाको " ढल्के वरको ढुङ्गो र अन्तरेहरु"को याद आयो । कतैबाट लुकेर कसैले ढुङ्गाको झटारो हान्ने पो हो कि ! मनमा एक किसिमको अनौठो डर पसेर आयो । उतैबाट ल्याएको मिनिरल वाटर दुई घुट्की पिएर बाटो लागे म । धेरैवेर बस्ता कुनै दुर्घटनामा परिने अनौठ चिन्ता लागेर हो म हतारिएको ।
बर्दिवासमा चेकिङ रहेछ । मलाई पनि मोटरसाइकल रोक्न लगाएर सोधिखोजी गरियो ।
प्रहरी - "कहाँबाट आउनु भएको ?
म - " ईटहरी
प्रहरी - " कहाँसम्म जारे हो ?
" म -" काठमाण्डौ
प्रहरी - " लकडाउनमा हिडडुल गर्नुहुँदैन भन्ने थाहा छैन ?
म-" त्यस्तै समस्या परेर हिडेको
प्रहरी -" कस्तो समस्या ?
म -" आमा बिरामी हुनुभएको हुनाले आपतकालीन आउनुपर्यो ।( सँगै प्रेसको कार्ड देखाएँ मैले ) ।
त्यसपछि भने मोटरसाइकलको नम्बर र मेरो नाम टिपेर छाडिदियो । काठमाडौंमा बसेर मोफसलमा रहेको मिडियालाई गरेको सानो सहयोगले आज ठुलो काम गर्यो । यसका लागि मित्र आदर्श सुशिललाई मनमनै धन्यवाद दिएँ मैले ।
सिन्धुलीको घुमाउरो बाटो पछ्याउन थालेपछि गन्तव्य नजिकै आएको आभाष भयो मलाई । पहाड आँफैमा एउटा हृदयस्पर्शी बिम्ब हो । त्यसमा मौसमको आफ्नै भुमिका हुन्छ सुन्दरता निखार्न । तर विभिन्न ब्यबसाय गर्नेहरुले अब्यवस्थित रुपमा राखेको होडिङबोर्डले भने बिस्तारै कृतिम देखिन थाल्दैछन् पहाडहरु । सेल्फी डाँडोमा आएर खाजा खान भ्याए मैले । गाडी रोकेर केही ब्यक्तिहरु सेल्फी हान्नमा ब्यस्त छन् । चलन सिरोधार्य गर्नु पनि राम्रै कुरा हो । " सिन्धुली गडी घुमेर हेर्दा सुन्तलीमई कतिमा राम्रो दरवार मार्यो नि माया ले मार्यो " मनमनै यहि गीत गुनगुनाउँदै अनवरत दौडिरहेछु म । बिचबिचमा घरबाट आउने फोन कलले परिवारको चिन्ता ब्यक्त गर्दछ । खुर्कोट बजार आँफैमा सुन्दर छ । त्यसमा सलल बहिरहेको सुनकोसीको पानी । अब त्यति घुम्ती बाटो पनि छैन । यदि केहिकथम मोटरसाइकल बिग्रीहाल्यो भने चाँहि चौपट हुन्छ भन्ने डर भने सुरुदेखि नै विद्यमान छ । दिन सक्किएर रात बिउँझेको छ भर्खर-भर्खर । बिपरित दिशाबाट आउने सवारीसाधनको हेडलाईटले डिस्टर्ब हुँदैछन् आँखा । घरिघरि साईरन जडित गाडि अनिष्टको संकेत गर्दै दौडिन्छन् । उसै डराईरहेको मन झन् डराउँछ । बिद्वानहरुले यो कोरोनाको संकटले विश्व अर्थतन्त्र धरासाही हुने अभिब्यक्ति दिईरहँदा मैले भने बारम्बार आमाको कुरकुुच्चामा च्यात्तिएको मोजा सम्झिएँ ।
उकालो-ओरालो फेरि ओरालो - उकालो गर्दै राति नौ बजे काठमाण्डौ आईपुगियो । कोरोना भाइरसले निम्त्याएको महामारी र त्यसको रोकथामका लागि लगाइएको लकडाउनले आम जनमानसमा जुन किसिमको डर,त्रास र असहज परिस्थिति श्रृजना भएको छ त्यो छिटोभन्दा छिटो सहज बनोस् भन्दै सम्पूर्ण आत्माहरुलाई प्रणाम गर्दछु।