मोरङ — नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको पूर्व विदेश सचिव एस जयशंकर विदेशमन्त्री हुँदैमा दुई देशबीचको सम्बन्धमा कुनै तात्विक अन्तर नहुने बताएका छन् ।
हिजो को परिघटनाबाट नाकाबन्दी र संविधान निर्माण प्रक्रियामा जे जस्ता कुराहरु भए त्यसबाट भारतले पनि शिक्षा लिइसकेको स्थिति छ,’ विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानीमा दाहालले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र नेपालले पनि त्यस खालका परिस्थिति फेरि नहोदोरियोस् भन्नका निम्ति सतर्कता अपनाएको स्थिति छ। त्यसैले भारतको विदेश मन्त्री को हुन्छ भन्ने कुराले अब चाँहि तात्विक अन्तर हाम्रो सम्बन्धमा पर्दैन।’
अध्यक्ष दाहालले पार्टीको निर्णय र देशको परिस्थिति अनुकूल रहे एक वर्षपछि पूर्व सहमतिका आधारमा आफू प्रधानमन्त्री बन्ने बताए। ‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने विषय हो तर परिस्थिति कस्तो विकास हुँदै जान्छ त्यसमा पनि निर्भर हुन्छ,’ उनले भने, ‘पार्टी एकताको बेलामा ऐतिहासिक रुपमा जे सहमति गरेका छौं त्यसलाई हामी इमान्दारिता साथ कार्यान्वयन गर्दै लान्छौं।’
पार्टी एकताका बेला आलोपालो सरकार चलाउने विषयमा प्रधानमन्त्री केपी ओलीले दिल्लीमा आफ्नो पद ४/५ दिन मात्रै बाँकी रहेको भन्दै दिएको प्रतिक्रिया प्रतिकात्मक भएको अध्यक्ष दाहालले बताए।
‘अन्तरवार्तामा पार्टी एकताका बेलामा हाम्रा बीच भएका सहमतिको कुरा स्मरण मात्रै गरेको छु,’ उनले भने, ‘बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय बोलेकै छैन। प्रधानमन्त्री ज्यूले त्यो कुरा राम्ररी बुझ्नुभएको छ।’
आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पत्रकारलाई नखेल्न अध्यक्ष दाहालले आग्रह गरे। ‘हामीले पार्टी एकताका बेला जे सैद्धान्तिक र व्यवहारिक सहमति गरेका छौं, त्यही लाइनमा अघि बढ्दै जाने र पार्टीलाई सुदृढ गर्दै लग्छौं,’ उनले भने, ‘पार्टीका सम्पूर्ण साथिहरु, समर्थक र जनसमुदायलाई आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई अनावश्यक रुपमा पचारमा नलैजान र अनावश्यक पोलराइजेशन नगर्न आग्रह छ किनकि मैले जे बोले त्यो पहिला नै बाहिर आएकै कुरा हो त्यो कुनै नौलो विषय र पहिलो पटक नबोलेकोले यसलाई अतिरन्जित रुपमा लैजान जरुरी छैन।’
उनले आइतबार बस्ने पार्टीको सचिवालय बैठकले कार्य विभाजनको विषय टुंगो लगाउने बताए।