देवचुली,
पछिल्लो समय चिनबाट महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरसले हजारौँ मानिसहरुको ज्यान लिइसकेको छ । नेपालमा भने अहिले सम्म कोरोना प्रभाव भयावह स्थितिमा पुगिसकेको भने छैन । यद्यपी यसको पुर्व रोकथामका लागि विभिन्न ठाँउमा जनचेतना मुलक कार्यक्रमहरु समेत संचालन भईरहेको छ । सचेतना अभियानकै क्रममा जिल्ला प्रशासन कार्यालय नवलपुर र देवचुली नगरपालिकाको समन्वयमा सोमबार देवचुली नगरपालिका भित्रका केही पसलहरुमा सरसफाईको अवस्था र उपभोग्य वस्तुको सर्वसुलभता बारे अनुगमन गरिएको छ ।
कोराना भाइरस महामारीको बेलामा कृत्रिम मूल्यवृद्धि, कालो बजारी, म्याद सकिएका वस्तुको विक्री, सफा ठाँउमा खानेकुरा राखेको नराखेको, सरसफाई , ग्याँसमा आपुर्ति र कोरोना भाइरस आइहाल्यो भने यसको सामना कसरी गर्ने जस्ता विषयमा जानकारी गराईएको देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत एवम् अनुगमन संयोजक अविनाश पन्थीले बताउनुभयो । उहाँले विशेष गरि होटल व्यवसायलाई अनुगमन गर्नुपर्ने बताउँदै अनुगमनलाई निरन्तरता दिने समेत बताउनुभयो ।
महामारीका रुपमा फैलिएको भाइरसका बेला उपभोक्तासँग चर्काे मुल्य लिइने मात्र नभई पुराना सामाग्रीलाई समेत बढि मुल्यमा व्यापारीहरुले बेच्न सक्ने भएकाले पनि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय कावासोती प्रतिनिधि जगत बहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले सोमबार देवचुलीमा रहेका मासु पसल, किराना पसल, औषधि पसल, तरकारी पसल, चटपट ठेला लगायतमा अनुगमन सँगै कोरोना भाइरस सम्बन्धी पर्चाकार्ड वितरण गरिएको बताउनुभयो ।
अनुगमन गर्ने क्रममा मासु पसल, चटपट ठेलाहरुमा सरसफाई नभएको पाईएको बताउँदै छिट्टै यसको व्यवस्थापन नगरे कारवाहीको दायरामा ल्याउने समेत जानकारी दिनुभयो ।
बजार अनुगमनमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, वाणिव्य उपाध्यक्ष सत्यनारायण भुसाल, देवचुली नगरपालिकाका पशु सेवा शाखा अधिकृत सत्यनारायण गोहित, स्वास्थ्य शाखाका सिनियर अहेव पिताम्बर भुर्तेल, देवचुली नगरपालिकाका कर्मचारी,सुचना प्रविधि अधिकृत कृष्ण हरि सापकोटा,ईलाका प्रहरी कार्यालय रजहर, अस्थाई प्रहरी पोष्ट दलदले, वडा नं १३ का वडा सदस्य ओम नारायण महतो लगायतको उपस्थिती रहेको थियो । यस्तै मंगलबार प्रगतिनगर, केउरेनी, सि.जि शास्वतधाम जस्ता ठाँउहरुमा अनुगमन गरिने भएको छ ।