देवचुली,
हिजोका दिनहरुमा कुनै काम गर्नुपर्दा छोराले मात्र सक्छन् छोरीले केही गर्न सक्दैन्न भन्ने मान्यता रहेको थियो । तर अहिलेको परिपेक्ष्यमा छोराले गर्ने काम छोरीले पनि गर्न सक्ने कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।
जागृती बाल तथा युवा सरोकार नेपालद्धारा देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगरमा रहेको विश्व ज्योति माध्यमिक विद्यालयमा संचालित किशोरी अधिकार संरक्षणको लागि वडास्तरीय सरोकारवालाहरु सँगको छलफमा कर्यक्रममा उक्त भनाईहरु आएका थिए ।
छोरीहरुले समाज परिवर्तन गर्नको लागि अभिभावकहरुले विश्वास गर्न सके छोरीहरु पनि कुनै छोरा भन्दा कम नहुने कार्यक्रममा उपस्थित रहनुभएका झबिन्द्र प्रसाद काफ्लेले बताउनुभयो । अझै पनि कतिपय समाजमा छोरीहरु महिनावारी हुदाँ छुट्टै बस्नुपर्छ, पुरानो कपडा लगाउनुपर्छ, भान्सामा जानुहुदैन भन्ने मान्यता रहि आएको छ तर त्यस मान्यतालाई अन्त्य गर्न सबै अभिभावकहरुले आवाज उठाउनुपर्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा सहभागि विश्व ज्योति माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ८ की छात्रा सृष्टि काफ्लेले किशोरी माथि हुने हिंसा र यौन दुव्र्यवहार प्रति समाजमा जति नै आवाज उठिरहे पनि यसको समाधान नहुदाँ दुःख लाग्ने गरेको बताएकी थिइन् । उनले समाजमा किशोरकिशोरीलाई एकै ठाँउमा सहभागि गराएर सचेतना कार्यक्रमहरु आयोजना गर्न सके पक्कै एक दिन समस्याको अन्त्य हुने बताएकी थिइन् ।
अर्का सहभागी छात्र कक्षा ८ का मौसम श्रेष्ठले समाजमा छोरीहरुले छोटो कपडा लगाएर हिँड्दा छोराहरुलाई आर्कषित गराउँछ भनेर छोरीहरुलाई गाली गरिन्छ तर अभिभावकहरुले छोरालाई छोरी माथि हेरिने दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताएका थिए । छोरीहरुलाई कमजोरी हुन्छन् भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा विश्व ज्योति माध्यमिक विद्यालयका सह प्रधानाध्यापक विष्णु प्रसाद आचार्यले समाजमा भएका कुरुतीलाई अन्त्य गर्न शिक्षक मात्र नभई अभिभावकहरुको पनि महत्वपुर्ण भुमिका रहने बताउनुभएको थियो । जति शिक्षा विद्यालयले विद्यार्थीलाई प्रदान गर्छ उति नै शिक्षा घरमा पनि दिनुपर्ने बताउनुभएको थियो ।
देवचुलीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत सबै वडाहरुमा सरोकारवालाहरु सँगको छलफल आयोजना गरि किशोरकिशोरीहरुको क्षमता अभिबृद्धी गराई किशोरी अधिकारका बारेमा सबैलाई जानकारी प्रदान गर्नको लागि अभियान सुरु गरिएको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिनुभयो ।
कार्यक्रम देवचुली नगरपालिका कार्यपालिका सदस्य माया सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडाका जनप्रतिनिधिहरु, अभिभावकहरु, विद्यालयका शिक्षकशिक्षिका, कक्षा ८ का छात्रछात्राहरु गरी करिब ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णले आ–आफ्ना भनाईहरु राखेका थिए ।