देवचुली,
देवचुली नगरपालिकाको आयोजनामा नगरपालिकाका कर्मचारी तथा नवआगन्तुक वडासचिवहरुलाई ८ दिने क्षमता विकास तालिम दिईएको छ । गत माघ २८ गते देखि सुरु भएको ८ दिने कार्यालय सञ्चालन व्यवस्थापन र प्रविधि सम्बन्धी तालिम बुधबार देवचुली नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले देवचुली नगरपालिकालाई अन्य नगरपालिका भन्दा फरक नगरपालिका बनाउनको लागि नगरपालिकाका कर्मचारीहरुको ठुलो भुमिका रहने बताउँदै यस किसिमको तालिमले कर्मचारीहरुको कार्य सम्पादनमा पृथकता आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनता सँग नजिक रहेर काम गर्ने अवसर वडा सचिवहरुको रहेकाले वडासचिवहरु जनमैत्री हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले सेवा लिन आउने सेवाग्राहीहरुको कामलाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताउँदै सेवाग्राहीहरुलाई खुसी गराउनु नै ठुलो कुरा रहेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा नगरपालिकाबाट हुने हरेक कार्यहरुमा नगरवासीले सास्ती ब्यहोर्न नपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका ना.सु पन्जिकरण शाखा प्रमुख भेषराज पौडेल र देवचुली नगरपालिकाका सूचना प्रविधि अधिकृत कृष्ण हरि सापकोटा ,देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल,देवचुली नगरपालिकाका अधिकृत स्तर छैटौँ र सुचना अधिकारी अविनास पन्थी,देवचुली नगरपालिकाका लेखा अधिकृत श्री भद्र पौडेलले प्रशिक्षण दिनुभएको थियो । तालिममा पहिलो दिनको प्रतिवेदन गंगा भुसाल र व्यवस्थापन रविन्द्र पौडेलले गर्नुभएको थियो दोस्रो दिनको जिवन गैरे, व्यवस्थापन र प्रतिवेदन हरि प्रसाद पोख्रेल, तेस्रो दिनको प्रतिवेदन संझना डुम्रे र व्यवस्थापन निर्मला कण्डेल र चौथो दिनको प्रतिवेदन शान्ति सुवेदी, व्यवस्थापन विद्या पौडेलले गर्नुभएको थियो । तालिममा कर्मचारीहरुले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी वहन गर्ने, कार्यालय संचालन कसरी गर्ने, कानुनको परिचालन कसरी गर्ने, सामाजिक सुरक्षा कसरी गर्ने जस्ता विभिन्न विषयमा तालिम दिइएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।