देवचुली,
सधै घरायसी काम धन्दामा मात्र सीमीत रहने महिलाहरु यतिबेला सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरामा सचेत भएको पाइन्छ । कुनै समयमा पुरुषको आदेशमा चल्ने महिलाहरु अहिले आफैमा मेहेनत गरेर स्वरोजगार बन्न खोजिरहेका छन् । अवसर पाए महिलाहरुले पनि पुरुष सरह गर्न सक्छन् भन्ने उद्धेश्यले देवचुली नगरपालिकाले महिलाहरुको लागि नगरस्तरीय चुरा, पोते तालिम संचालनमा ल्याएको छ ।
यतिबेला महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन चुरा, पोते, माला तालिम संचालन गरिएको छ । देवचुली नगरपालिकाको आयोजनामा महिलाहरुको दैनिक जिवनमा प्रयोगमा आउने सामाग्री उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको सिपमुलक तालिममा चुरा, पोते, माला बनाउन सिकाइएको थियो ।
महिलाहरु आर्थिक रुपमा कमजोर हुँदा पछाडी परेकाले तालिमको आयोजना गरिएको सामजिक विकास शाखा प्रमुख बिमला लम्सालले जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई उद्यमी बनाउदै आत्मनिर्मर बनाउन तालिम आयोजना गरिएको बताउनुभयो । तालिममा सहभागि हुनु भएकी देवचुली ४ झाँक्रेकी सुनिता सुनारले तालिमले सम्पुर्ण सहभागिलाई हौसला थपेको भन्दै सामाग्री उत्पादन गरेर बजारीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
अर्का सहभागि देवचुली ६ की देवी कुमारी गाहाले तालिममा सहभागि हुन पाउँदा खुसी लागेको बताउँदै अब आफ्नो पकेट खर्चको लागि कोही सँग हात फैलाउन नपर्ने बताउनुभयो । बिहान बेलुका घरको काम गरेर दिउँसोको खाली समयमा केही सिप सिकेर समयलाई सदुपयोग गर्न पाउँदा खुसी लागेको देवचुली १३ दलदलेकी खगिसरा भुसालले बताउनुभयो ।
तालिम निकै प्रभावकारी रहेको बताउँदै आगामी दिनमा महिलाहरुलाई यस किसिसमका तालिम संचालन गर्न सके महिलाहरुले पनि घर बाहिर धेरै गर्न सक्ने देवचुली १६ की सिता खनालको विश्वास रहेको छ ।
चुरा पोते बनाउने तालिम ४ दिन सम्म चल्ने छ । तालिमको प्रशिक्षण उमा देवि पनेरुले गर्नुभएको छ ।