देवचुली,
देवचुली नगरपालिकाको प्रगति प्रतिवेदन सार्वजानिक गरिएको छ । आइतबार नगरपालिकाको सभाहलमा देवचुली नगरपालिकाका प्रवक्ता एव्म वडा नं १३ का वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को श्रावण देखि माघ मसान्त सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ४० प्रतिशत काम सम्पन्न भएको र ६० प्रतिशत विकास निर्माण कार्य गर्न बाँकी रहेको प्रवक्ता खत्रीले बताउनुभयो । जसमा वित्तीय प्रगति ४०.९० प्रतिशत खर्च भएको छ । गत बर्ष यसै अवधिमा २७ प्रतिशत खर्च भएकोमा यस बर्ष ४० प्रतिशत खर्च भईसकेको समेत प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।
यस अवधिमा नगरपालिकाले सम्पन्न गरेका कार्यहरुमा वडा नं ४, ५, ६, ८, ९ र १७ वडा कार्यालय भवन उद्धघाटन, नगर प्रोफाइल तयार, विद्यालयहरुमा नैतिक शिक्षा अनिवार्य, लोकाहा खोला किनारमा औद्योगिक ग्राम प्रस्ताव गरि पूर्वाधार लगानीको अन्तिम चरणमा पुगेको, दलदले धौबादी सडक खण्ड अन्तर्गत मुण्डे कुमसोत ६ किलोमिटर खण्ड २ लेनको बनाउन डि.पि.आर र आई.ई.ई तयार गरी सम्बन्धित संघीय र प्रदेश मन्त्रालयमा पेश गरिएको लगायतका कार्य सम्पन्न गरिएको बताइएको छ । यसै गरि करिब ११ किलोमिटर सडक कालोपत्रे ठेक्का प्रक्रियामा रहेको, ५.५ किलोमिटर नाला तथा साइड वाल निर्माण, करिब ७ किलोमिटर ग्राभेल सडक निर्माण, १५ वटा कल्र्भट निर्माण, १० वटा सार्वजानिक भवन निर्माण, १ वटा झोलुङ्ग पुल र २ वटा खानेपानी ट्याङ्की निर्माण साथै करिब ३.५ किलोमिटर खानेपानी पाइपलाइन विस्तार गरिएको बताईएको छ ।
नगरपालिकाको ७ महिनाको अबधिमा १ हजार ७ सय ६८ व्यक्ति गत घटना दर्ता, ५ सय ६१ व्यवसाय दर्ता र ५ सय ३७ अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
नगरपालिकाको न्यायिक समितिमा यस अबधिमा ३१ वटा मुद्धा दर्ता भएका छन् जसमध्य ९ वटा मिलापत्र भएको, ४ वटा फैसला भएको र १८ वटा मुद्धा फैसला हुन बाँकी रहेका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा देवचुली नगरपालिकाले स्थानीय राजपत्रको ढाँचा, प्रशासकीय कार्यविधि नियमित गर्ने, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, प्रमाणिकरण ऐन २०७६, फोहोर मैला व्यवस्थापन ऐन २०७६, निजी सार्वजानिक साझेदारी ऐन २०७६, नगर शिक्षा ऐन २०७६, नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७६ र सहकारी ऐन २०७५ गरि ९ वटा ऐन, कार्यविधि जारी गरेको छ ।
पत्रकार सम्मेलनमा नवलपुरका पत्रकारहरुले नगरपालिकाका जिम्मेवार व्यक्तिहरु समक्ष सार्वजानिक जग्गा अतिक्रमण नगरपालिकाको नियमन प्रक्रिया, कर्मचारीको तलब भत्ता प्रक्रिया, सञ्चार ऐन, बजार क्षेत्रको घर भाडा दर, आर्थिक पारदर्शिता, लगायतका बिषयमा प्रश्न गरेका थिए ।
पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिदैँ देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल र प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीले देवचुली नगरपालिकामा अन्य स्थानीय तहमा भन्दा उल्लेख्य प्रगति भएको बताउँदै आगामी दिनमा पनि नगरवासीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई समापन गर्दै देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले देवचुली नगरपालिकालाई अन्य नगपालिका भन्दा नमुना नगरपालिका बनाउँन सबै जनप्रतिनिधी लागिरहेको बताउँदै छिटै नै बाँकी रहेको कामलाई सम्पन्न गर्ने बताउनुभयो ।