देवचुली,
देवचुलीको पाँचौ नगरसभाले ६ ऐन पारित गरेको छ । नगरसभामा प्रमाणीकरण ऐन, नगर शिक्षा ऐन, फोहोरमैला व्यवस्थापन ऐन, नगर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, निजि र सार्वजनिक साझेदार ऐन, र सहकारी ऐन सर्वसम्मतले पारित भएको हो । शुक्रबार देवचुली नगरपालिकाको सभाहलमा आयोजित हिँउदे अधिवेशनको पाँचौ नगर सभामा ६ वटा विधेयक ऐनलाई पारित गरिएको थियो ।
कार्यक्रममा पाँचौ नगर सभामा विधान मस्यौदा समितिका संयोजक दिनानाथ भुसालले प्रस्तुत ऐन वाचन गरेर सुनाउनुभएको थियो । पारित भएका ऐनमा उपस्थित सभासदहरुले सकारात्मक प्रतिक्रिया दिँदै देवचुली नगरपालिकाको वृहत्तर विकासका लागि जनप्रतिनिधि, सरोकारवाला र नगरवासी सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
पाँचौ नगर सभा कार्यक्रम देवचुली नगरपालिकाको नगर प्रमुख पुर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । नगर सभामा आफ्ना मन्तव्य राख्दै नगर प्रमुख श्रेष्ठले देवचुली नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा चिनाउनको लागि हरेक ठाँउबाट लागि परिरहेको बताउँदै एकजनाले मात्र सम्भव नभएर सम्पुर्णको साथको आवश्यकता रहेको बताउनुभएको थियो ।
उहाँले आगामी दिनमा नगर प्रोफाइल, नगर यातायात, सामाजिक शिक्षा, नेपाली तथा अंग्रेजी माध्यमबाट पठनपाठन गराईने, फोहोर मैला व्यवस्थापन तथा आधुनिक दाहसंस्कारको व्यवस्था, देवचुलीमा पर्यटन प्रबद्र्धन तथा पदमार्गको व्यवस्था, देवचुली नगरपालिकाका वडा कार्यालय भवन निर्माण सम्पन्न, राष्ट्रिय निकुञ्जको समन्वयमा खोलाका गिटी बालुवा सार्वजानिक हितका भौतिक निर्माणमा प्रयोग गरिने, लोकाहामा औधोगिक क्षेत्र निर्माण, देवचुली १० मा मिनी रङ्गशाला निर्माण लगायतका कार्य सम्पन्न गर्ने योजना रहेको बताउनुभयो ।
यस्तै नगर सभामा बोल्दै देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले देवचुली नगरपालिकामा अन्य नगरपालिका भन्दा फरक भौगोलिक प्रकृती रहेकाले पनि त्यसको सदुपयोग गरि पर्यटन प्रवद्र्धन मार्फत नगरपालिकाको विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । नगरपालिकाका प्रवक्ता एव्म वडा नं १३ का वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले सौहार्द वातावरणमा नगरसभा सम्पन्न भएकोमा नगरसभाका सम्पुर्ण सभासदलाई धन्यवाद दिँदै आगामी कार्ययोजनाको लागि शुभकामना व्यक्त गर्नुभयो ।