देवचुली,
देवचुली नगरपालिकाको वडा नं १४ मा ३ महिने टेलरिङ्ग तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं १४ को आर्थिक सहयोग र रिलायन्स टेक्निकल सोलुसन प्रा.लिको प्राविधिक सहयोगमा संचालित तालिमको एक कार्यक्रमको आयोजना गरि देवचुली पार्टी प्यालेसमा शनिबार सम्पन्न गरिएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिका वडा नं १४ का वडा अध्यक्ष हेमराज दवाडीले महिलाहरु वडामा बसेर स्वारोजगार बन्न सके भोलिका समयमा आफ्ना श्रीमानसँग कुनै खर्चको लागि पैसा माग्नु नपर्ने बताउँदै ३ महिनाभरि तालिममा सिकेका कुरा व्यवहारमा पनि उतार्न आग्रह गर्नुभएको थियो । उहाँले टेलरिङ्ग तालिमका लागि वडाबाट ३ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै तालिम सिकेकी प्रशिक्षार्थी पार्वती पाण्डेले महिला दिदीबहिनीहरुको लागि यस किसिमको तालिम निकै उपयुक्त लागेको बताउँदै आगामी दिनहरुमा वडाबाट विभिन्न तालिमहरु बेलाबेलामा संचालन गर्न आग्रह गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
यस्तै अर्की प्रशिक्षार्थी गंगा ढकाल कार्कीले अझै पनि समाजमा महिलाहरुलाई घर भित्रको काममा मात्र सिमित सोच्नेहरुको लागि बाहिर पनि महिलाहरुले धेरै गर्न सक्ने बताउँदै ३ महिने टेलरिङ्ग तालिममा महिलाहरुको लागि कुर्तासुरुवाल, गाउन, बच्चाहरुको लागि भोटो जस्ता थुप्रै आइटमहरु बनाउन सिकेको बताउनुभयो ।
तालिममा सहभागी १८ जना महिलाहरुलाई टिका र प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । ३ महिने टेलरिङ्ग तालिममा सविता नेपालीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षता रहनुभएका रिलायन्स टेक्निकल सोलुसन प्रा.लिका अध्यक्ष भरत देवकोटाले बेरोजगार रहेका महिलाहरुलाई केही शिप सिकाएर स्वरोजगार बनाउन सके जीवनयापनमा सहज हुनेभएकाले कार्यक्रमको आयोजना गरिएको बताउँदै लामो समय देखि रिलायन्सले समाजमा भएका युवायुवतीहरुलाई स्वरोजगार बनाउनको लागि तालिम संचालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा रिलायन्स टेक्निकल सोलुसन प्रा.लिका अध्यक्ष भरत देवकोटाको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिका वडा नं १४ का वडा अध्यक्ष हेमराज दवाडीले गर्नुभएको थियो । यस्तै वडा सदस्य चन्द्रकला लम्साल, मनोज श्रेष्ठ, ओम बहादुर थापा, ज्ञानु सुनार लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण डि.आर क्षेत्रीेले गर्नुभएको थियो ।