देवचुली,
देवचुली नगरपालिका वडा नं ६ को नवनिर्मित वडा भवन सोमबार समुद्घाटन गरिएको छ । वडाको बालकिरण आधारभुत विद्यालयको छेउमा निर्मित सो भवनको देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले समुद्घाटन गर्नु भएको हो।
वडा भवनको समुद्घाटनमा रिबन काटेपछी सेवाग्राही रोम बहादुर भण्डारीको कार्य सम्पादन गरि सेवा प्रारम्भ गरिएको हो । अब वडा नं ६ का स्थानियले आफ्नै वडाबाट सेवा पाउने छन् । आफ्नै वडामा वडा कार्यालय स्थापना भएपछी स्थानियले खुसी ब्यक्त गरेका छन ।
वडा कार्यालय समुद्घाटन कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं छ का वडाध्यक्ष मिन बहादुर सोतीले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नगरप्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जनप्रतिनिधि भनेका वडाबासीका सुखदु:खका साथी भएकाले आँफुहरु सधैं वडाबासीको साथमा रहेको बताउनु भएको छ । यसैगरी देवचुली ६ किर्तिपुरमा होम-स्टे सञ्चालनको लागी देवचुली नगरपालिकाले पहल गरिरहेको उहाँले बताउनु भयो ।
यस्तै कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, नगरपालिकाका प्रवक्ता क्याप्टेन डिल बहादुर खत्री, वडा नं ७ का वडाध्यक्ष भुपराज पाठक, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पुराना वडा सचिव रबिन्द्र पौडेलको बिदाई र नव आगन्तुक वडा सचिव पूर्ण बहादुर आलेको स्वागत समेत गरिएको थियो। सो अवसरमा पुराना वडासचिवले नयाँ वडासचिवलाई माईनुट हस्तान्तरण गरि कार्यभार सुम्पिनु भएको थियो।
वडा कार्यालयको निर्माण करिव १९ लाखको लागत सम्पन्न गरिएको हो। गत साउनबाट निर्माण सुरु भएको वडाभवन आठ महिनापछी वडाबासीका लागि सेवा दिने गरि शुभारम्भ गरिएको हो ।
यस अघि देवचुली नगरपालिका वडा नं १७ र ९ को वडा कार्यालयको समुद्घाटन गरि सेवा सुचारु गरिसकिएको छ । देवचुलीका वडा भवन बनाउने जिम्मा डोको कन्स्ट्रक्सनले लिएको हो ।