देवचुली,
केही बर्ष अगाडि सम्म दिनभर केही काम नभएर अरुको घरआँगनमा डुल्ने पिप्रहरका स्थानीयहरुलाई पछिल्लो समय आफ्नै गाँउमा होमस्टे संचालन भएपछि भने स्वरोजगार र स्वाभलम्बी बन्न सहज भएको छ । सरकारले नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेको सन्दर्भमा यति बेला नवलपुरको देवचुली नगरपालिका वडा नं १७ पिप्रहरमा पर्यटकीय क्रियाकलापहरु बढेको देख्न सकिन्छ ।
होमस्टे संचालन गर्न भन्दा पहिला यहाँका स्थानीय युवा र महिलाहरु बेरोजगार तथा व्यक्तिगत आयआर्जनमा पनि समस्या रहेको थियो । तर होमस्टे संचालनमा आए पछि भने गाँउ नैै परिवर्तन भएको होमस्टे नं १७ का संचालक पुनकला खोजवारले बताउनुभयो । २०७३ साल देखि स्थापना गरिएको होमस्टेबाट महिनामा ४० देखि ४५ हजार आम्दानी हुने समेत खोजवारले बताउनुभयो । होमस्टेले यहाँका थारु, मगर, गुरुङ्ग र ठकुरी महिलाको आर्थिकस्तर निकै उकासेको छ । पहिला आर्थिक रुपमा पुरुषमा निर्भर महिला आजभोली आफैँ आर्थिक हिसाब किताब राखेर कारोबार गर्न समेत थालेको र आर्थिक रुपमा ठुलो सहयोग सँगै सबैमा चेतनाको विकास भएको खोजवार बताउनुहुन्छ ।
यस्तै होमस्टे नं १९ की संचालक रबिना चौधरीले घुम्न आउने पर्यटकहरुलाई अर्गानीक साग, सब्जी तरकारी र पर्यटकको रोजाईमा घरमै पालेको हाँस, लोकल कुखुरा जस्ता परिकार खुवाउने गरेकोे बताउनुभयो । होमस्टे आउने पर्यटकहरुलाई सम्मान सत्कारका लागि दिनैभरि व्यस्त रहने चौधरी बताउनुहुन्छ ।
होमस्टे संचालनका लगि सुरुमा २, ३ दिनको ट्रेनिङ्ग गरिएको तथा देशका अन्य होमस्टेको अध्ययन तथा अवलोकन गरेपछि आँफुहरुले पनि होमस्टे संचालन गरेको र चार बर्षको अबिधिमा विपन्न परिवारलाई सहयोग, स्थानीय कला संस्कृतीको जगेर्ना र पर्यापर्यटनको विकास भएको पिप्रहर सामुदायिक होमस्टेका व्यवस्थापक सोमनाथ महतोले जानकारी दिनुभयो । होमस्टे संचालनमा आए पछि भने होमस्टे गरेर के हुन्छ भन्नेहरुले पनि होमस्टे संचालन गर्न थालेको बताउँदै व्यक्ति मात्र नभई समुदायको समेत विकास भएको महतोले बताउनुभयो ।
यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरी राख्ने व्यवस्था मिलाईएको र आम्दानी भएको रकम एकमुष्ठ समितिमा जम्मा गर्ने र आम्दानीलाई विभाजन गरेर ९० प्रतिशत रकम होमस्टे संचालकको खातामा जम्मा गरिदिने बताउँदै १० प्रतिशत रकम समाजसेवा र विकास निर्माणमा खर्च गर्ने बताउनुभयो । पिप्रहरमा २२ वटा घरमा होमस्टे रहेका छन् भने एक पटकमा करिब २ सय जना सम्म पर्यटकलाई राख्न सकिने व्यवस्था मिलाइएको महतोले बताउनुभयो । पिप्रहर सामुदायिक होमस्टेले हाल सम्म १ करोड भन्दा बढि अनुदान रकम समेत पाइसकेको साथै उत्कृष्ट होमस्टे अवार्ड समेत पाएको व्यवस्थापक महतोले बताउनुभयो ।