देवचुली,
पछिल्लो समय विभिन्न ठाँउमा किशोरीहरुको लागि विभिन्न किसिमका तालिम, सचेतना मुलक कार्यक्रमहरु भएको देख्न सकिन्छ तर जतिसुकै सचेतना कार्यक्रमहरु भए पनि समाजमा अझै किशोरीहरु माथि हुने विभिन्न किसिमका घटनाहरु कमि भएको पाइएको छैन । यस्ता घटनाहरु कम गराउनको लागि स्वंयम अभिभावकहरुको महत्वपुर्ण भुमिका रहनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन ।
जागृती बाल तथा युवा सरोकार नेपालद्धारा देवचुली नगरपालिकाको विभिन्न वडामा किशोरी अधिकार संरक्षणको लागि सरोकार वालाहरु सँग वडास्तरीय छलफल कार्यक्रम गरिरहँदा देवचुली वडा नं १३ मा पनि सरोकारवालाहरु सँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । विहिबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा विभिन्न जनप्रतिनिधि, टोल समितिका सदस्य लगायतको उपस्थितीमा छलफल सम्पन्न भएको हो ।
छलफल कार्यक्रममा बोल्दै कुमारवर्ती टोल सुधार समितिका अध्यक्ष गंगाधर शर्माले किशोरीहरुको लागि सचेतना मुलक कार्यक्रम गरिरहँदा पहिले भन्दा धेरै सुधार आएको बताउदैँ यस किसिमका कार्यक्रमहरु संस्थाले मात्र नभई अब वडा नगरपालिकाबाट निरन्तरता दिन सके पक्कै एकदिन किशोरी माथि हुने घटना कसैले पनि सुन्न नपर्ने बताउनुभएको थियो ।
घरमा केही सामानको आवश्यक पर्दा घरमा भएको छोरीलाई बजार पढाउन समेत आटँ नआउने गणेश टोल सुधार समितिका सदस्य लक्ष्मी वि।कले बताउनुहुन्छ । समाजमा किशोरी माथि बलत्कार जस्ता घटना सुन्दा कतै आफ्नो छोरी माथि नै हुने होकी भन्ने डरले छोरीलाई बजार पढाउन नसक्ने वि।कको भनाइ छ । यस्ता घटनाहरु कहिले सम्म सुन्ने, कहिले सम्म हाम्रा छोरीहरु असुरक्षित रहने यस विषयमा सम्बिन्धीत निकायले चासो दिनुपर्ने छलफलमा बताउनुभयो ।
यस्तै कुमारवर्ती आधारभुत विद्यालयका प्रधानध्यापक ठाकुर प्रसाद पौडेलले किशोरकिशोरी भनेका अभिभावकहरुको लागि एकै रथका दुई पाङ्ग्रा भएकाले हरेक अभिभावकहरुले सम्मान व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले बिग्रने समय भनेको किशोरकिशोरीको अवस्थामा भएकाले यो समयमा विशेष गरि अभिभावकहरुले आफ्नो छोराछोरी के गर्दै छ, कहाँ जान्छ, के खान्छ जस्ता कुरामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
किशोरी अधिकार संरक्षणको लागि घर, टोल, समाज अनि मात्र देशमा सुधार गर्न सकिने किशोरी अभियान्ता सुमिना कुमालले बताउँदै हरेक अभिभावकहरु आफ्नो छोराछोरीको नजिक रहेर कुरा गर्न सके समाजलाई शान्त र सुन्दर बनाउन सक्ने बताएकी थिइन् ।
विगत २ वर्ष देखि जागृती बाल तथा युवा सरोकार नेपालले किशोरीहरुको क्षेत्रमा काम गर्दै आइरहेको बताउँदै अब समाज परिवर्तन गर्न एउटा संस्था मात्र जागरुक नभई हरेक व्यक्ति, वडा, नगरपालिकाबाट उठ्नु पर्ने अवस्था आएको महा सचिव दिपक शर्माले बताउनुभयो । उहाँले किशोरी अधिकार संरक्षकका लागि विभिन्न चुनौतीहरुलाई पार गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा वडा भित्रका युवाक्लव, आमा समुह, जनप्रतिनिधी, बालक्लव, विद्यालय, स्वास्थ्य संस्थाबाट प्रतिनिधीमुलक रुपमा ३० जनाको उपस्थिती रहेको र कार्यक्रम देवचुली नगरलिकाका वडा नं १३ का सदस्य ओम नारायण महत्तो को अध्यक्ष्तामा तथा देवचुली नगरपालिका नगर कार्यपालिका सदस्य सुवोचन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।