"सेपाक ताक्रो" अर्थात् खुट्टाले खेल्ने भलिवल खेलका लागी नेपाली राष्ट्रीय टोलीको प्रतिनिधित्व गर्दै देवचुलीका दुई राष्ट्रीय खेलाडी बंगलादेश प्रस्थान गरेका छन् | आगामी साता बंगलादेशमा हुने सातौँ दक्षिण एसियाली खेलकुदका लागी देवचुली १ का विजय महतो र बिपिन थनेत राष्ट्रीय टोलीमा सहभागी भइ बंगलादेश प्रस्थान गरेका हुन | जानुअघि ह्याप्पी एम एमको कार्यक्रम "ह्याप्पी टाउन टक"मा कुरा गर्दै खेलाडीद्वयले फर्केर आउँदा नेपाली र देवचुलीबासीका लागी पदक लिएर आउने बताए | खेलाडीद्वय महतो र थनेत सेपाक ताक्रोमा राष्ट्रीय र अन्तरराष्ट्रीय खेलमा पदक जित्ने खेलाडी पनि हुन् |
खेलाडीहरुलाई खेल खेल्न जान वडाध्यक्ष लक्ष्मण राज भण्डारी र कार्यबाहक वडाध्यक्ष बाबुराम माझीको बिशेष पहलमा पच्चीस हजार रुपैयाँ सहयोग गरिएको देवचुली १,२ र ३ का संयुक्त वडासचिव बिश्व बन्धु न्यौपानेले ह्याप्पी टाइम्सलाई बताए | न्यौपानेका अनुसार सेपाक ताक्रो खेलका राष्ट्रीय खेलाडी नेपालका अरु जिल्लामा भन्दा नवलपुरमा धेरै रहेकाले यस प्रति स्थानीय सरकार र जिल्ला खेलकुद बिकास समितिले विशेष ध्यान दिन जरुरि छ | खेलाडी बंगलादेश जाने समय नजिकिएको र ५० हजार भन्दा बढी रकम निकासा गर्न कार्यपालिकले पारित गर्नुपर्ने भएकाले हालका लागी वडाबाट सो रकम छुट्टयाइएको तर रकम पर्याप्त नभएको वडासचिव न्यौपानेको भनाई रहेको थियो |
के हो त "सेपाक ताक्रो" खेल ?
"सेपाक ताक्रो" खेलको नाम मले र थाई भाषाको समिश्रणबाट बनेको हो | मले भाषामा सेपाक भन्नाले किक हान्नु र थाई भाषामा ताक्रो भन्नाले लहरे बिरुवाबाट बनेको बल भन्ने बुझिन्छ | यो खेलमा बललाई हातले छुन पाइदैन | मात्रै खुट्टा,थाई,छाती र टाउकोले छोएर खेल्नु पर्छ | १५ औं शताब्दीमा मलेसियाको मलाक्का राज्यबाट यो खेलको सुरुवात भएको मलेसियाको ऐतिहासिक दस्ताबेजहरुमा उल्लेख गरिएको पाइन्छ | १६ औं शताब्दीको सुरुवातमा इन्डोनेसियाको सुमात्रा टापुमा पनि यो खेल खेल्न सुरु गरिएको इतिहास छ |
हाल मलेसिया,इन्डोनेसिया,सिंगापुर,थाइल्याण्ड,म्यानमार,लाओस लगायत दक्षिणपूर्वी एसियामा यो खेल निकै प्रचलित रहेको छ | नेपालमा भने यो खेलप्रति सरकार र सम्बन्धित सरोकारवालाहरुको त्यति ध्यान गएको पाइंदैन | कतिलाई त यो खेलको नाम समेत नौलो लाग्छ | सम्भावना भएर पनि ओझेल परेको यहि खेलको प्रतिनिधित्व गर्दै देवचुली दुई खेलाडी बंगलादेश प्रस्थान गरेका छन् | नेपाली राष्ट्रीय टोलीलाई सफलताको हार्दिक शुभकामना ह्याप्पी टाइम्स र ह्याप्पी एफ एमको तर्फबाट |