देवचुली,
नगरपालिकाबाट विद्यालयका विद्यार्थीहरुलाई दिइने दिवा खाजा कार्यक्रम नेपाल राष्ट्रिय शारदा विद्यालयमा प्रभावकारी बनेको छ । देवचुली नगरपालिका वडा नं ६ किर्तिपुरमा रहेको नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि ५ कक्षा सम्मका लागि दिवा खाजा नगरपालिकाबाट प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर फेवालीेले बताउनुभयो । पहाडी र ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयमा गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुलाई दिवा खाजाले थप सहज भएको फेवालीले बताउनुभयो ।
दिवा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या अन्त्य भएको उहाँले बताउनुभयो । अघिल्ला बर्षमा बालकक्षालाई मात्र दिवा खाजाको व्यवस्था थियो भने यही असोज देखि भने कक्षा ५ सम्मका बालबालिकालाई नगरपालिकाबाट दिवा खाजाको व्यवस्था गरेको फेवालीले बताउनुहुन्छ । खाजामा जाउलो, अण्डा, चनाकेराउ, मकै, बटमास जस्ता खानेकुरा विद्यार्थीहरुलाई खुवाउने गरेको बताउनुभयो ।
यस्तै विद्यालयका सह प्रधानध्यापक कृष्ण रिजालले खाजा पाउने भएपछि विद्यार्थी नियमित विद्यालय आउने गरेको बताउनुभयो । विद्यार्थीहरुको लागि खाजा पकाउन भने अभिभावक स्वयम आफै आएर पकाउने गरेको बताउनुभयो । यस दिवा खाजाले विद्यार्थीहरुको स्वास्थ्यमा पनि पाइदाँ पु¥याउने गरेको साथै आर्थिक अवस्था कम भएका विद्यार्थीले साथीहरुले खाजा खाँदा हेरिरहने अवस्था नआएको बताउनुभयो ।
यस्तै विद्यालयमा खाजा पकाएर खुवाउन आउनुभएका अभिभावक भिम बहादुर गाहा मगरले दिवा खाजाले गर्दा छोराछोरीहरु जंग फुडबाट बन्चित भएको बताउदैँ खाजाको व्यवस्था गर्दा विद्यार्थीहरु नियमित विद्यालय आउन खोजेको बताउनुभयो ।
यस्तै अर्की अभिभावक लिला वान्टकीले दिवा खाजाको व्यवस्थापन गर्दा निकै खुशी लागेको बताउदैँ “घरमा जाउलो नखाने बच्चाहरु आजभोली जाउलो मन पराउने” बताउनुभयो । विद्यालयमा स्वंयम अभिभावकहरु पालैपालो आएर आफ्नै हातबाट पकाएर खाजा खुवाउने गरेको बताउनुभयो ।
विद्यालयका विद्यार्थीहरु सरसफाई जस्ता कुरामा बाटोमा, घरवरिपरि डस्विन, जथाभावी फोहोर नफालौँ जस्ता सचेतना कार्यक्रम पनि गर्ने गरेका छन् ।