पोखरा जेष्ठ १६
संघ सरकारले ल्याएको बजेटलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अपमानजनक भएको प्रतिक्रिया दिएका छन् । संघ र प्रदेश दुवै ठाउँमा नेकपाको एकल बहुमतको सरकार छ । तर, संघ सरकारले ल्याएको बजेटप्रति भने मुख्यमन्त्री गुरुङ सन्तुष्ट छैनन् ।
"फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार, भनेजस्तो नेपाल सरकारको तर्फबाट बजेट ठिक होला तर प्रदेशको आँखाबाट हेर्दाचाहिँ अपमानजनक छ, होच्याउन खोजेको जस्तो छ, निराशाजनक छ", उनले थपे, "संघीयता कार्यान्वयनको जिम्मा चाहिँ प्रदेशलाई दिने अनि स्रोत साधनमा चाहिँ कन्जुस्याईं गरेको छ, यसअघिकै बजेटलाई निरन्तरता दिएको छ ।"
संघ सरकारले बुधबार आगामी आर्थिक वर्ष ०७६-७७ को लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । सातवटा प्रदेशलाई वित्तीय समानीकरण अनुदान मार्फत कुल ५५ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ६ अर्ब ७७ करोड रुपैयाँ समानीकरण अनुदानमार्फत पाएको थियो ।तर, यो अनुदान संघले कम दिएको भन्दै गत वर्ष पनि मुख्यमन्त्री गुरुङले चर्को आलोचना गरेका थिए । ७० प्रतिशत राजस्व केन्द्र सरकार आफैले राखेर प्रदेश सरकारको हातखुट्टा बाँधेको, डमरु बनाइएको प्रतिक्रिया दिँदै आएका थिए । प्राकृतिक स्रोत तथा वित्तीय स्रोतबाट संकलित राजस्वको ३० प्रतिशत मात्र संघमा राखेर बाँकी राजस्व प्रदेश र स्थानीय तहमा दिईनुपर्ने माग उनको थियो ।समानीकरण अनुदान कम आएपछि मुख्यमन्त्री गुरुङले केन्द्रिकृत बजेट आएको प्रतिक्रिया दिए । "हामीले बजेटको भोल्युम बढाऔँ भनेका थियौँ, कुल बजेटको ३३ प्रतिशत प्रदेशलाई छुट्याउन भनेका थियौँ, तर त्यस्तो खालको आएन, पुरानै ढंगको भयो", उनले थपे, "संघीयताको मर्म अनुसार गएन, ७६० वटा सरकारलाई निराश बनायो, प्रदेशलाई खुम्चाएको छ, हामीले भने अनुसार बजेट पनि दिएन ।"विकासे अड्डाका मन्त्रीहरु भएकै कारण अन्य क्षेत्रमा बढी बजेट गए पनि गण्डकी प्रदेश समृद्धिमा भने पछाडि नपर्ने प्रतिक्रिया उनले दिए ।