देवचुली,
नेपाल सक्रिय बाल क्लबको आयोजनामा किशोरीहरुबाट विद्यालयका किशोरकिशोरीहरुलाई नेतृत्व विकास तालिम सम्पन्न भएको छ । शुक्रबार देवचुली नगरपालिका वडा नं १ मा रहेको नेपाल सेकेन्डरी मोडल विद्यालयका कक्षा ८ का किशोरकिशोरीहरुलाई नेतृत्व विकासका बारेमा तालिम संचालन गरिएको थियो ।
उक्त तालिममा किशोरकिशोरीहरुलाई नेतृत्व सिप भनेको के हो ? नेतृत्व सिप अन्तर्गत कस्ता सिपहरु पर्दछन्, नेतृत्व विकास कसरी गर्न सकिन्छ , नेतृत्व विकास किन आवश्यक छ , विद्यार्थीहरुले आफुलाई कसरी प्रतिभावान बनाउने , बाल अधिकार संरक्षणका तहहरु के के हुन, बाल सहभागिता, बाल अधिकारको आवाज जस्ता विषयमा नेपाल सक्रिय बाल क्लबकी अध्यक्ष रितिका पोखे्रल र सदस्यहरु आस्था अनिर्जित बस्ताकोट, सुधा सुनार, आरती विश्वकर्मा लगायतले तालिम प्रदान गरेका थिए ।
आफ्ना उमेरका किशोरकिशोरीहरुलाई तालिमले ज्ञान, सिप र व्यवहारमा परिवर्तन गर्ने र आफुले जानेको सिकेको कुरा साथिहरुमा जानकारी गराए उनीहरुको व्यवहारमा परिवर्तन आउने र कार्यक्रममा अगाडि गएर बोल्न सक्ने क्षमताको विकास हुने भएकाले तालिमको आयोजना गरिएको नेपाल सक्रिय बाल क्लबकी अध्यक्ष रितिका पोखे्रलले जानकारी दिनुभयो ।
तालिम पश्चात किशोरकिशोरीले नेतृत्व विकास तालिमले आफुहरुमा अगाडि गएर बोल्न सक्ने आट आएको र बालबालिकाहरुले अधिकार सम्बन्धी आवाजहरु कसरी उठाउने जस्ता धेरै कुराहरु थाहा भएको बताउँदै तालिम निकै प्रभावकारी रहेको बताएका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक यज्ञ पाण्डेले विद्यार्थीहरुलाई यसरी कक्षा कोठामा आई तालिम प्रदान गर्दा शिक्षा सँगै अन्य बाहिरी कुरामा विद्यार्थीहरुले ज्ञान पाएको बताउँदै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
तालिममा किशोरी अभियान्ताहरुले लेक्चर, प्रश्रोतर, पोस्टर प्रदर्शन गरि तालिम दिएका थिए । कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालको सहयोग रहेको थियो भने तालिममा कक्षा ८ का करिब ३० जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।