फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले एक विज्ञप्ती जारी गर्दै काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ–‘कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भिर परिस्थितिको ऋजना भएको हुँदा सो सम्बन्धमा स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको छ ।’ फाउण्डेशनले यसबाट पर्न गएको प्रतिकूलताप्रति सम्बन्धि सबैसंग क्षमा मागेको छ ।
रंगशाला निर्माणको काम सुरु गरेदेखि नै कार्यवातावरणमा असहजता सिर्जना गर्ने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने, त्रासहरु भईरहँदा पनि चितवनबासीको सम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिलाई सामान्य रुपमा लिँदै काम अघि बढाएको फाउण्डेशनले जनाएको छ । तर सुरक्षा नै नभएपछि बाध्य भएर काम रोक्नु परेको फाउण्डेशनको भनाई छ ।
बुधबार विहान नेकपाका स्थानीय नेता प्रकाश कँडेल नेतृत्वको केही समूहले रंगशाला निर्माणस्थलमा लगाइएको जस्ताको बार डोजर लगाएर भत्काएको थियो । यस घटनाको चौतर्फी बिरोध समेत भईरहेको छ ।