देवचुली,
किशोरी सशक्तिकरण परियोजनाको नगरस्तरीय सल्लाहकार समितिको बैठक देवचुलीमा सम्पन्न भएको छ । बुधबार साहारा पार्टी प्यालेसमा जागृती बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको बैठकमा वडा अध्यक्ष, जनप्रतिनिधी, शिक्षकशिक्षिका, वडा सदस्य, शिक्षाशाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका बालमैत्री परामर्शादाता नारायण पौडेलले अबका दिनहरुमा किशोरीहरुलाई नेतृत्व विकास सँगै सहकारीमा बचत कसरी गर्ने तर्फ पनि ज्ञान दिनुुपर्ने बताउनुभएको थियो । यस्तै जागृती बाल तथा युवा सरोकार नेपालका संरक्षक होमनाथ जैसीले आगामी दिनहरुमा जागृती बाल तथा युवा सरोकार नेपालले संचालन गरेको किशोरी सशक्तिकरण कार्यक्रमलाई देवचुलीमा मात्र नभई अन्य जिल्लामा पनि संचालन गरि किशोरीहरुलाई सक्षम बनाउने बताउदैँ किशोरी सँगै किशोर, अभिभावकहरुलाई पनि सहभागी गराउने बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं ९ का वडा अध्यक्षले केही समय पहिले वडामा आयोजना गरिएको किशोरी भलिबल प्रतियोगितामा किशोरीहरुले राम्रो प्रस्तुती दिएकोमा साँचिकै किशोरीहरुलाई अवसर दिए केही गर्ने रहेछन् भन्ने लागेको र अबका दिनमा वडाबाट पनि किशोरीहरुको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने बताउनुभएको थियो ।
यस्तै बैठकमा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले देवचुलीका हरेक विद्यालयमा किशोरीमैत्री शौचालय निर्माण भएको बताउँदै किशोरीहरुको क्षेत्रमा आँफु जुनसुकै ठाँउबाट सहयोग गर्ने बताउनुभएको थियो।
यस्तै कार्यक्रमको समापन गर्दै देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले बाह्रकोलको विद्यार्थीहरुलाई पनि यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनुभएको थियो ।बैठकमा आगामी दिनमा कसरी काम गर्ने विषयमा छलफल गरिएको थियो भने कार्यक्रमको सहजीकरण जागृती बाल तथा युवा सरोकार नेपालका बोर्ड मेम्वर विश्वास लामिछानेले गर्नुभएको थियो ।